रौतहटको दुर्गा भगवतीमा बृक्षरोपण

  Sampatti News Online

June 8, 2024


काठमाण्डौँ । रौतहटको दुर्गा भगवती गाउँपालिकामा “जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियान अन्तर्गत शुक्रबार बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
समाजमा सकारात्मक प्रभाव फैलाउन तथा ब्यक्तिका जन्मदिनलाई सत्कर्मसंग जोड्ने उदेश्यले एक कार्यक्रमको आयोजा गरी उपस्थित सम्पुर्णले आ–आफ्नो जन्मदिन सम्झिएर सार्वजनिक स्थलमा बृक्षरोपण गरी कार्यक्रम सम्पन्न भएको हो ।
बर्तमान समाजमा जन्मदिनको दिन केक काट्ने, रक्सी पिउने लगायतका बिदेशी रितीरिवाजलाई अन्त्य गर्दे जन्मदिनलाई कुनै पनि सत्कर्ममा जोडेर नेपालीहरुको छुट्टै महिमा स्थापित गर्ने उदेश्यले बृक्षरोपण कार्यक्रमको आयोजना गरिएको तराई बिकास तथा संञ्चार केन्द्र नेपालका अध्यक्ष तथा सो अभियानका संयोजक गोबिन्दप्रसाद चौलागाईले सम्पत्ति न्यूजलाई बताएका छन् ।
कार्यक्रममा महालेखापरीक्षक कार्यलयका उपमहालेखा परिक्षक पदमराज पौडेल गाउँपालिका अध्यक्ष शम्भु सिंह, उपाध्यक्ष शिला देबि, रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका सुरेन्द्र घिमिरे, रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरे, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बिक्रम हुमागाइ, प्रमुख जिल्ला वन अधिकृत शैलेन्द्रकुमार मिश्र, लगायतको उपस्थितिमा विभिन्न जातका बिरुवा रोपिएको छ ।
सो कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक र उनकी धर्मपत्नी अर्चना पाठकले आफ्नो २६ औँ बिवाह बर्षगाँठको उपलक्ष्मा समेत बृक्षरोपण गरेका थिए ।
तराई बिकास तथा संञ्चार केन्द्र नेपालले रौतहटको सिन्दुरेघारीबाट पहिलो पटक सुरुवात गरेको यो अभियान अहिले देशकै नयाँ र नमुना अभियान बनेको छ ।
नेपालमा वृक्षारोपण कार्यका लागि अन्तर्गका निकायहरू र समुदायमा आधारित वन उपभोक्ता समुहहरु, निजी वन धनी र आम नागरिक कार्यरत रहेका छन् । तर खासमा सरकारले चाँसो राख्नुपर्ने यो बिषयमा सरकार भने मौन छ ।

प्रकाशित मिति:June 8, 2024