प्रतिशोधका झूठा मुद्दाले रौतहटका जनप्रतिनिधि अख्तियारको डरै डरले भयभीत भएको गुनासो

राम्रो काम गर्नेले अख्तियार संग डराउनु पर्दैन, नियत राम्रो राखेर काम गर्नेलाई सहजीकरणका निम्ति तयार

  Sampatti News Online

June 9, 2024

रौतहट । पछिल्लो समय रौतहटको स्थानीयतहमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगको नाउँमा आतंक फैलिएको जनप्रतिनिधिहरुले गुनासो गरेका छन्।
रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित आयोजित कार्यक्रममा शुक्रवार अधिकांस जनप्रतिनिधिले त्यस्तो गुनासो गरेका हुन्।

कार्यक्रममा अख्तियार दूरुपयोग अनुसन्धान हेटौंडाको कार्यक्षेत्र अन्तर्गत सबै भन्दा बढी मुद्दा पर्ने दोस्रो जिल्लाको रुपमा रौतहट रहेको बताईएको छ। अख्तियार हेटौंडा अन्तर्गत १२ जिल्ला मध्ये सब भन्दा बढी मुद्दा पर्ने जिल्लाको रुपमा बारा रहेको छ भने रौतहट दोस्रो स्थानमा रहेको छ।
तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रौतहटको समन्वयमा र दुर्गा भगवती गाउँपालिकाको सहकार्यमा शुक्रवार आयोजित “सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका” विषयक कार्यक्रममा उक्त कुरा प्रकाशमा आएको हो।
कार्यक्रमका प्रमुख अतिथि महालेखापरिक्षक कार्यालयका उप-महालेखा परिक्षक पदमराज पौडेलले विश्व आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा सबैले आ-आफ्नो दायित्व सम्झेर राज्यको उद्देश्य पुरागर्नु पर्ने जिम्मेवारी बोध गराएका छन्।
स्थानीय तहका राम्राकार्यहरु प्रचार प्रसारमा ल्याउनुपर्ने बताएका थिए। देशमा हाल ११ खरब रुपैया बेरुजु रहेको छ । देशको बजेट बराबरको बेरुजु फर्छयौंट गर्नुपर्नेमा त्यसो नहुँदा उनले चिन्ता ब्यक्त गरेका थिए । ७५३ स्थानीयतह मध्ये ७४८ स्थानीय तहमा ३१ अरब रुपैया बेरुजु रहेको बताए। देशको ४८ स्थानीयतहले बार्षिक बजेट ऐन कानुन पारित नगरेरै चलाउदै आएको जिकिर गरेका थिए।
२८० स्थानीय तहले गत आर्थिक बर्षको बक्यौंता रकम दिएर चालु आर्थिक बर्षको बजेट सकाएको उपमहा लेखापरिक्षक पौडेलले बताए।मधेश प्रदेशमा ६५ अरब रुपैया बेरुजु रहेको उनले जानकारी गराएका थिए।
४० हजार दरबन्दीमा हाल १४ हजार पद रिक्त रहेकले अधिकाँश स्थानिय तहमा करार कर्मचारीकै भरमा सेवा प्रवाह भैरहेको छ

दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भुकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष सिंहले दुर्गा भगवती गाउपालिकाले गरेका महत्वपुर्ण काम मध्ये कृषि क्षेत्रको बिकास ,स्वास्थ ,पुर्वाधार बिकासमा भएका उपलब्धिलाई सबैका सामु जानकारी गराएका थिए।

कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले स्थानीय तहमा काम गर्ने कर्मचारीहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे भय व्याप्त रहेको हुँदा समयमा काम गराउन यहाँ निकै चुनौतीपूर्ण रहेको बताए । अनावश्यक रुपमा उजुरी गर्ने परिपाटीबाट विकास निर्माणको कार्यमा शिथिलता आएको समेत गुनासो गरे ।

गरुडा नगरपालिकामा मेयर कन्थमणि जैसवालले जिल्ला र पालिकाको लागि यो कार्यक्रम ऐतिहासिक भएको बताउँदै रौतहटमा गलत लाई गलत भन्न नसक्ने जनभावना अनुसारको काम गर्दा पनि उजुरी दिएर हैरान पारेको बताए।, मेयरलाई तनाब दिएर राम्रो काम गर्न रोक्ने असफल गराउन लाग्ने मात्रै हाेइन नियतवश सही काम गर्नेलाई जानीजानी दुःख दिनेलाई पनि अब अख्तियार लगायतका सराेकारबाला निकायले समात्नु पर्ने माग गरेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राज्यद्धारा प्रदत गरिएका हक अधिकारको सहि रुपमा प्रयोग गरेर आम सेवाग्राहीलाई निष्पक्ष रुपमा सेवाप्रवाह गर्नुपर्नेमा जोड दिए । गलत गर्नेलाई निरुत्साहित गर्ने निकायहरु छदैछन् तर पाएको जिम्मेवारीलाई सहि रुपमा बहन गर्दा उजुरीबाट केही फरक नपर्ने स्पष्ट पारे ।

अख्तियार दूरपयोग अनुसन्धान आयोग हेटौंडाका उपसचिव सुरेन्द्र घिमिरेले १२ जिल्ला मध्ये सबै भन्दा बढी बारा जिल्लाको ७४४ मुद्दा परेको छ भने दोस्रो स्थानमा रहेको रौतहटको ६२८ मुद्दा परेको बताएका छन्।
आयोगको कार्यालयमा गत बैशाख मसान्त सम्म कुल २७ सय ७१ मुदा परेको जस मध्ये १५९९ छानबिन भएर फर्छ्यौट भईसकेको तथा ११७२ मुदा बाकी रहेको उपसचिव घिमिरेले बताएका थिए।
त्यस्तै रौतहटको ६२८ मुद्दा मध्ये २५० फर्छ्यौट भईसकेको उनले जानकारी दिएका थिए।
आयोगमा उजुरी पर्दा छानबिन दाबी सत्य हो कि होईन स्थलगत निरीक्षण गरी प्रमाण को आधारमा छानबिन गरिन्छ। तथ्यलाई टेकेर कार्यालय प्रमुखको सल्लाह अनुसार मुद्दा अघि बढाउन बिशेष अदालतमा आरोपपत्र दर्ता गर्ने र बिशेष अदालतको फैसला अनुसार हुनेगरेको उपसचिव घिमिरेले बताए।
मुद्दाको अन्तिम सुनुवाई सर्वोच्च अदालतमा हुनेगरेको ब्यबस्था गरिएको छ। अख्तियारले गुण र दोष लाई केलाउने भएका कारण गल्ती नगर्नेहरु अख्तियार संग भयभित हुन नहुने बताउदै राम्रो काम गर्नेलाई आफनो सस्थाले साथ दिने बताए।

कार्यक्रममा दुर्गा भगवती गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत परमानन्द पाठकले सहभागीलाई स्वागत गर्दै गाउँपालिकाले हाल सम्म गरेका मुख्य-मुख्य प्रगति विवरण जानकारी गराएका थिए।
कार्यक्रममा जिल्लाका वरिष्ठ पत्रकार प्रभातकुमार झाले नागरिक समाजको अगुवाका तर्फबाट सम्बोधन गर्दै गाउँ पालिकाले जनपक्षीय काम गर्न सफल भएको बताउदै स्थानीय तहमा अधिकार आएको धेरै नभएकाले हरेक नागरिकले सकारात्मक सोचाइ राखेर अगाडि बढनुको विकल्प नरहेको बताए ।

जिल्लामा सुशासनको अवस्था कस्तो छ र दुर्गा भगवती गाउपालिकाले गरेका राम्रा काम सरोकारवाला निकायलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको तराई विकास तथा सञ्चार केन्द्रका अध्यक्ष गोबिन्दप्रसाद चौलागाई जानकारी गराए ।

कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाका उपाध्यक्ष शिला देवी, डिभिजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्र,प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, इशनाथको प्रमुख प्रशासकीय अधिकृत रबीन्द्र झा, बौधीमाईको प्रमुख प्रशासकीय अधिकृत प्रमोद यादव, कटहरियाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, अधिकृत देवनाथ यादव, सहित नेपाल प्रहरीका एसपी दिलिप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई, अख्तियार दूरुपयोग अनुसन्धान हेटौंडाका ई. रोशन बुढाथोकी लगायतका सुरक्षा निकायका प्रतिनिधि सहित विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासघ रौतहटका उपाध्यक्ष प्रबिणकुमार शर्मा वरिष्ठ पत्रकार संजयकुमार मिश्रा,चन्चल झा, गोरखापत्र दैनिकका सन्जय मिश्र लगायतका सन्चारकर्मिहरुको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा दुर्गा भगवती ५ ओटै वडाका अध्यक्षहरु प्रधुम्न चौधरी ,सुरेश चौधरी ,धर्मेन्द्रकुमार झा,रामानन्द यादब ,धर्मनाथ चौधरी पालिकासदस्यहरु रामानाथ साह,रिंकु दास सिकिन्द्र जयसवाल, बिणा देबि जुडिया देबि शान्तिदेबि दास लगायत स्थानीय नागरिक समाजका अगुवा देखी रौतहट जिल्लाका प्रतिष्ठित ब्याक्तित्वहरुले कार्यक्रममा भागलिएको सो प्रशिक्षणमुलक एवं संदेशमुलक कार्यक्रममा तीन ओटा पेपर प्रस्तुत गरिएको थियो ।सो कार्यक्रममा बिहान देखि सचालन भएको थियो ।

तराई बिकास तथा संचार केन्द्र नेपालको आयोजना र दुर्गा भगवती गाउँपालिकाको सहकार्यमा भएको प्रशिक्षणमुलक कार्यक्रममा पालिकाका अध्यक्ष शम्भुकुमार सिंह आफ्नो पालिकाले हालसम्म गरेका उपलब्धिमूलक कामलाई सबैका सामु प्रष्ट ढंगले जानकारी गराउदै
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह कार्यक्रममा आफ्नो सान्दर्भिक धारणा राख्नुहुँदै ।
गरुडा नगरपालिकाका मेयर कन्थमणी जैसवाल कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै
रौतहट जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी कार्यक्रममा आफ्नो सान्दर्भिक धारणा राख्नुहुँदै ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडाको उपसचिव सुरेन्द्र घिमिरे कार्यक्रममा सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका सम्बधि आफ्नो धारणा राख्नुहुँदै ।
दुर्गा भगवती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परमानन्द पाठक कार्यक्रममा आफ्नो गाउँपालिकाका प्रगतिहरुको बारेमा धारणा राख्नुहुँदै ।
बरिष्ट पत्रकार प्रभात कुमार झा कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष एंव नेपाल पत्रकार महासंघका सचिव गोविन्दप्रसाद चौलागाई

प्रकाशित मिति:June 9, 2024