‘आइडिए’ को २१औँ बैठक नेपालमा हुँदै

  Sampatti News Online

June 9, 2024

काठमाण्डौँ । विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) को २१औँ बैठक नेपालमा हुँदै छ ।
असारको ४ देखि ७ गतेसम्म काठमाडौंमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने भएका छन् । आइडिएको २१ औँ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेस गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो ।
नेपालले ६ वर्षअघि आइडिए– १९ बैठक काठमाडौंमा गर्न डिसीस्थित विश्व बैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रूपमा ‘लबिङ’ गरेको थियो ।
उदघाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ । समापन सत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन् ।
अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेका छन् ।
विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडिए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोस्रो वरीयताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, नौ उपाध्यक्ष र पाँच डाइरेक्टर वासिङटनबाट नेपाल आउँदै छन् ।
यस्तै, विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका तीन सयभन्दा बढी प्रतिनिधि बैठकमा सहभागी हुने सहसचिव नेपालले जानकारी दिए ।
नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो ।

प्रकाशित मिति:June 9, 2024