June 10, 2024
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम दिएको छ ।
एमालेले प्रदेशसभा सदस्यहरु सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र हीरा सार्कीको नाम मुख्यमन्त्रीलाई दिएको स्रोतको भनाइ छ । यस्तै माओवादी केन्द्रले अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएको स्रोतले जानकारी दिएको छ ।
मुख्यमन्त्री सोडारीले स्वतन्त्र प्रदेश सभा सदस्य डा। तारादत्त जोशीलाई समेत सरकारमा सहभागी गराएर सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार सोडारीले साँझ ५ बजे शपथ ग्रहणको व्यवस्था मिलाइदिन प्रदेश प्रमुखलाई आग्रह समेत गरिसकेका छन् । प्रमुख सत्ता साझेदार एमाले र माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम मुख्यमन्त्रीलाई बुझाएपनि मन्त्रालयगत भागबन्डा नमिल्दा समस्या भइरहेको छ ।
भौतिक पूर्वाधार, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्रयाएर मन्त्री नियुक्त गर्ने तयारीमा रहेका मुख्यमन्त्रीलाई सत्तारुढ दलभित्रैबाट मन्त्रालय विभाजन गर्न नहुने दबाब रहेको छ ।
नाउपा मन्त्रालय विभाजनको विपक्षमा
मुख्यमन्त्री सोडारीले भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्ने तयारी गरेका बेला उनकै क्याबिनेटका मन्त्री विपक्षमा उभिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले मन्त्रालय विभाजनमा सहमत हुन नसकिने अडान लिएका छन् ।
नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्षबाट सरकारमा गएका चौधरीले मन्त्रालय फुटाउनहुन्न भन्ने पक्षमा पार्टी र आफू रहेको बताए ।
प्रकाशित मिति:June 10, 2024
November 23, 2024