भरत ताल बनाउँदा ३० करोड घोटाला : मेयर, उपमेयर र प्रमुख प्रशासकीयविरुद्ध मुद्दा

Nepal Cover
२९ जेष्ठ २०८१, मंगलवार
image

काठमाडौँ। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरतकुमार थापासहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । सर्लाहीमा चर्चित भरत ताल निर्माणमा ३० करोड रुपैयाँ भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार संघीय सरकारको स्वीकृतिविना वन क्षेत्रमा माछापोखरी बनाउने भनेर परियोजना अघि बढाई त्यसबाट ढुंगा, गिटी, बालुवाको दोहन गरेको अख्तियारको दाबी छ।

अख्तियारले बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको छ । यसैगरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध पनि ३० करोड २९ लाख रुपियाँ बिगो मागदाबी गरिएको छ ।

त्यस्तै, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मागदाबी गरिएको जानकारी अख्तियारका प्रवक्ता घिमिरेले दिनुभयो ।