अनुगमन टोलीमाथि नै ‘रकम बार्गेनिङ’को आरोप

बार्गेनिङ गरेको कुरामा सत्यता नभएको दाबी

  Sampatti News Online

June 12, 2024


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट बजार अनुगमनमा खटिएका निरीक्षण अधिकृतलगायतका कर्मचारीमाथि रकम बार्गेनिङको आरोप लागेको छ ।
पछिल्लो समय विभागले उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा गरेको बजार अनुगमनमा विभागका कर्मचारीहरूले रकम माग गरेको र विभिन्न बहाना बनाएर बार्गेनिङ गरेको आरोप व्यवसायीहरूले लगाएका छन् ।
विभागले दैनिक रुपमा ५ देखि ७ टोली बनाएर काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न पसल, पानी उद्योगलगायतका स्थानमा अनुगमन गरीरहेको छ । सबै टोलीमा गरेर झन्डै चालिस कर्मचारी अनुगमनमा खटिँदै आएका छन् ।
विभाग केही समयदेखि महानिर्देशकविहीन अवस्थामा रहेको थियो । महानिर्देशक नभएको समयमा नै अनुगमनमा खटिएका कर्मचारीहरूले रकमको बार्गेनिङ गरेको व्यवसायीको आरोप छ ।
अनुगमनमा खटिएका कर्मचारीहरूले केही सानो त्रुटि फेला परे पनि ठूलै अपराध गरेको जस्तो व्यवहार गर्ने र माथि मिलाउनुपर्ने भन्दै अप्रत्यक्ष रूपमा पैसाको बार्गेनिङ गर्ने गरेको पीडित व्यवसायीको गुनासो छ । विशेष गरी काठमाडौंका लाजिम्पाट, गैरीधारा, बूढानीलकण्ठ, ललितपुरका जावलाखेललगायत विभिन्न क्षेत्रका र भक्तपुर क्षेत्रका व्यवसायीले विभागका टोलीहरूले अशिष्ट व्यवहार गर्दै अप्रत्यक्ष रूपमा रकमको बार्गेनिङ गरेको आरोप लगाएका हुन् । विभागको अनुगमन टोली हाल स–साना व्यवसायमा केन्द्रित रहेको छ ।
विभागमा निर्देशकका रूपमा रहेका केही उपसचिवहरू पनि अनुगमन र सेटिङ धन्दामा लागेको व्यवसायीले आरोप लगाएका छन् । लाजिम्पाट क्षेत्रका एक व्यवसायीले विभागका कर्मचारीले साना व्यापारीहरूलाई दुःख दिएको र ठूला व्यापारीलाई केही पनि गर्न नसकेको बताएका छन् ।
विभागले बजार अनुगमनका लागि दश प्लस दुई अवधारणा ल्याएको भए पनि त्यो सफल हुन सकेको छैन । विभागका केही निर्देशकहरूसँगको मिलेमतोमा निरीक्षण अधिकृतलगायतका कर्मचारीहरूले बार्गेनिङको प्रयास गरेको भन्दै व्यवसायीले त्यसको जानकारी महानिर्देशकलाई गराउने बताएका छन् । उनीहरूले वाणिज्य सचिवको अध्यक्षतामा रहने केन्द्रीय अनुगमन समितिमा समेत आफूहरूले उजुरी गर्ने बताएका छन् ।
यसरी नै दुःख दिने र रकमको बार्गेनिङ गर्ने क्रम बढाएमा त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिने उनीहरूको भनाइ छ ।
विभागले भने नियमित कार्यक्रमअनुसार नै बजार अनुगमनलाई जारी राखिएको बताएको छ । विभागले आफ्नो वेभसाइटमार्फत् दैनिक बजार अनुगमनको प्रगति सार्वजनिक समेत गर्दै आइरहेको छ ।
विभागका सूचना अधिकारी तथा निर्देशक राकेश पाण्डेले विभागका निरीक्षण अधिकृतलगायतका कर्मचारीबाट नियम अनुसार नै अनुगमन भइरहेको र बार्गेनिङ गरेको भन्ने कुरामा कुनै सत्यता नभएको दाबी गरे ।
उनले अनुगमनमा खटिएका कुनै कर्मचारीले बार्गेनिङ गरेको प्रमाणसहित कतैबाट उजुरी आएमा त्यस्ता कर्मचारीलाई कडा कारबाही गरिने समेत बताएका छन् ।

प्रकाशित मिति:June 12, 2024