June 13, 2024
काठमाण्डौँ । वेस्ट इन्डिज जारी टी -२० विश्वकपको सुपर ८ मा पुगेको छ। बिहीबार बिहान सम्पन्न समूह सी अन्तर्गतको खेलमा वेस्ट इन्डिजले न्यूजिल्याण्डलाई १३ रनले पराजित गरेसँगै विश्वकपको सुपर आठमा पुगेको हो।
वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछाएको न्यूजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन मात्र बनाएको थियो। न्यूजिल्याण्डका लागि ग्लेन फिलिपले सर्वाधिक ४० रन बनाए भने फिन एलेनले २६ तथा मिचेल सेन्टनरले अविजित २१ रन बनाएका थिए।
त्यस्तै वेस्ट इन्डिजका बलर अल्जारी जोसेपले ४ र गुडाकेश मोतिले ३ विकेट लिएका थिए। यस अघि पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि शेरफान रुथरवूडले सर्वाधिक ६८ रन बनाएका थिए। त्यसै गरी न्यूजिल्याण्डका बलर ट्रेन्ट बोल्टले ३ तथा टिम साउदी र लुकी फर्गुसनले २-२ विकेट लिएका थिए।
यो जितपछि वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर ६ अङ्क सहित समूह सी बाट सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको छ। त्यस्तै न्यूजिल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ र सुपर आठको यात्रा सङ्कटमा परेको छ। यस समूहमा अफगानिस्तानले २ खेलमा दुवै जित हासिल गरेर ४ अङ्क बटुल्दै दोस्रो स्थानमा रहेको छ।
अब अफगानिस्तानले शुक्रबार पिएनजीविरुद्धको खेलमा जित हासिल गरेमा सुपर आठमा पुग्ने छ भने न्यूजिल्याण्ड सुपर आठको दौडबाट बाहिरिने छ। न्यूजिल्याण्डले अब तेस्रो खेल शनिबार युगान्डासँग खेल्ने छ । त्यस्तै वेस्ट इन्डिजले भने जुन १८ मा अफगानिस्तानसँग खेल्ने छ।
प्रकाशित मिति:June 13, 2024
April 23, 2025
April 23, 2025