दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको प्रारम्भिक चरण प्रारम्भ

  Sampatti News

June 13, 2024

कञ्चनपुर । भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दोधारा चाँदनीमा आगामी आर्थिक वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने योजना रहेको छ । सोही लक्ष्यका साथ प्राविधिकहरूको एक टोली वातावरणीय व्यवस्थापन योजना तयार गर्न निर्माणस्थलमा परिचालन भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले वन तथा वातावरण मन्त्रालयले वातावरणीय व्यवस्थापन योजना बनाउन पत्राचार गरेसँगै समितिबाट इन्जिनियरको नेतृत्वमा प्राविधिक टोली कञ्चनपुरमा खटिएको बताए ।

वन मन्त्रालयले पहिले स्वीकृत भएको इआइएलाई टेकेर फेरि वातावरणीय व्यवस्थापन योजना बनाउन भनेपछि टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित सहकार्य गरेर सो काममा खटिएको कार्यकारी निर्देशक गजुरेल बताए ।

उनले आकारमा पहिलेभन्दा सानो विस्तृत परियोजना प्रतिवेदन बनेकाले अब ४२ हेक्टरबाट घटेर २५ हेक्टरमा सुक्खा बन्दरगाह निर्माण हुने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको गत जेठमा भएको भारत भ्रमणका क्रममा दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति:June 13, 2024