काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गरेकी छिन् । नागरिक आज पनि सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सो अवस्था हटाउन सरकारको ध्यनाकर्षण गराएकी हुन् ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सचेतक बरालले ओपिडी काउण्टर बढाएर भएपनि बिरामीहरुलाई समयमै उपचार गर्नुपर्ने अवस्था बनाउन माग गरिन्। उनले बिरामी दर्ता, रिपोर्ट बुझ्दा, डाक्टरलाई रिपोर्ट बुझाउँदा बारम्बार लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गरिन् ।
सचेतक बरालले भनिन्-‘आज हाम्रा सर्वसाधारण नागरिकहरु सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ । ९ बजे ओपिडी खुल्छ भने ५ बजेदेखि लाइन बस्ने ति नागरिकहरुका लागि सोच्नुपर्ने अवस्था छ । दुई चार वटा काउण्टर थपेर स्वास्थ्य सेवा सहज बनाउनका लागि अनुरोध गर्दछु ।’