वित्तीय संस्थाको नाफा १५ प्रतिशतले घट्यो

  Sampatti News Online

June 13, 2024

काठमाडौं । आर्थिक गतिविधिमा कमी आई कर्जा असुली कमजोर हुँदा चालू आर्थिक वर्षको वैशाखसम्ममा बैंक, वित्तीय संस्थाको नाफा १५ प्रतिशतभन्दा धेरैले घटेको छ । आर्थिक गतिविधिमा आएको शिथिलतासँगै बैंकहरूको कर्जा लगानी घट्नुका साथै जोखिम व्यवस्थाबापत छुट्ट्याउनुपर्ने रकम बढेपछि नाफामा असर परेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आव २०८०-८१ को वैशाखसम्ममा बैंकहरूले ५३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आवको यसै अवधिको तुलनामा नाफा १५ दशमलव शून्य ३ प्रतिशतले कम हो । गत आवको यसै अवधिमा बैंकहरूले ६२ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

चालू आवको चैतसम्मको तुलनामा भने बैंक, वित्तीय संस्थाको नाफा १९ दशमलव शून्य ८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले जेठ १३ गते निर्देशन जारी गर्दै बैंकहरूको असल कर्जामा १ दशमलव २० प्रतिशत मात्र जोखिम व्यवस्था गर्नुपर्ने प्रावधान ल्याएको थियो ।

बैंकहरूले जोखिम बापत छुट्ट्याउनुपर्ने रकम वृद्धिले पनि नाफा प्रभावित भएको छ । चालू आवको वैशाखसम्मा बैंकहरूले जोखिम व्यवस्थाबापत ७८ अर्ब ५८ करोड रुपैयाँ छुट्ट्याएका छन् । अघिल्लो वर्ष यसै अवधिको तुलनामा यो रकम ४६ दशमलव ५६ प्रतिशतले बढी हो । राष्ट्र बैंकले हाल असल कर्जामा १ दशमलव २०, सुक्ष्म निगरानी कर्जामा ५, कमसलमा २५, शंकास्पदमा ५० र खराबमा शतप्रतिशत जोखिम व्यवस्थाबापत रकम छुट्ट्याउनुपर्ने व्यवस्था गरेको छ ।

गत आवको वैशाखसम्मको तुलनामा चालू वर्षको वैशाखसम्ममा सबैभन्दा बढी फाइनान्स कम्पनीको नाफा ६३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति:June 13, 2024