कोशी प्रदेशः ५ वर्षमा ५१२ किलोमिटर सडक कालोपत्रे

  Sampatti News Online

June 13, 2024

विराटनगर । कोशी प्रदेश सरकारले ५१२ किलोमिटर पक्की सडक निर्माण गरेको छ । प्रदेश योजना आयोगका अनुसार प्रदेश सरकार गठन भएपश्चात आर्थिक वर्ष २०७९-८० सम्म ५१२.६४ किलोमिटर सडक कालोपत्रे गरेको हो । यो अवधिमा १८१८.२८ किलोमिटर ग्राभेल सडक र ५९४५.२६ किलोमिटर कच्ची सडक निर्माण भएको छ ।

चालु आर्थिक वर्षसम्म प्रदेश सरकारले पाँच हजार किलोमिटर सडक स्तरोन्नति गर्दै बाह्रै महिना सवारी कुदाउन मिल्ने बनाउने लक्ष्य लिएको थियो ।

योजना तर्जुमाको आधार वर्ष (२०७६–७७)मा प्रदेशको रणनीतिक सडक २३८९.०८ किलोमिटर र ग्रामीण सडक ६१२१.६४ किलोमिटर थियो । यो सडक सञ्जालमध्ये १५४४.६६ किलोमिटर कालोपत्रे सडक थियो । प्रदेश सरकारले ५१२.६४ किलोमिटर पक्की सडक थप गरेको हो ।

प्रदेश सरकारले पाँच वर्षको अवधिमा ७६ वटा मोटरेवल पुल, १३८ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । २०७६-७७ सम्म प्रदेशमा १७१५ वटा झोलुङ्गे पुल थिए ।

प्रदेशले सन् २०३० सम्म १३७ वटा स्थानीय तहलाई जोड्ने गरी सात हजार किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । सबै स्थानीय तहका केन्द्र र हरेक पर्यटकीय क्षेत्रमा बाह्रै महिना सवारी कुद्नेगरी पूर्वाधार बनाउने सरकारको लक्ष्य छ ।

प्रकाशित मिति:June 13, 2024