लगातार बढेको नेप्से बिहीबार घट्यो

  Sampatti News Online

June 13, 2024

काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार ३ कारोबार दिन बढेर बिहीबार घटेको छ । साताको अन्तिम कारोबार दिन सेयर परिसूचक नेप्से ९.३२ अंक ९०.४३ प्रतिशतले गिरावट भएर २११२.२९ को बिन्दुमा बन्द भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम बढेको छ । साताभर नयाँ सूचीकृत भएर लकइन नखुलेको हाइड्रोपावर र अन्य कम्पनी तथा सेयर सप्लाई न्यून भएको कम्पनीमा कनरिङ गर्दै मूल्य बढाएका लगानीकर्ताले नाफा बुक गर्दा बिहीबार कारोबार रकम बढेर करिब साढे ६ अर्ब पुगेको हो ।

बजारमा कुल ७७ हजार ४०० वटा कारोबारमा १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजारको कारोबार भएको छ । जसमध्ये नेपाल फाइनान्सको सर्वाधिक २८ करोड ४७ लाखको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड कम्पनीको २० करोड ५८ लाख, समृद्धि फाइनान्सको १७ करोड ५६ लाख, साधना लघुवित्तको १२ करोड ९९ लाख र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १२ करोड ९१ लाखको कारोबार भएको छ ।

वित्तीय अवस्था बिग्रिँदै गएको वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण उच्च देखिन्छ । बिहीबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.०३ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक १.३१ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:June 13, 2024