हिम्मतिलो हुन भूमिमन्त्रीलाई प्रमुख सचेतक शाहीको सुझाव

Nepal Cover
३१ जेष्ठ २०८१, बिहीबार
image

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई हिम्मतिलो हुन सुझाएका छन्।

भूमिको वर्गीकरण गर्न र वर्गीकरणअनुसार मात्रै उपयोग गर्न पाउने गरी कठोर निर्णय लिन उनले आग्रह गरेका हुन्। अन्यथा मुलुक बन्न नसक्ने सांसद शाही बताउँछन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘अप्रिय निर्णय गरिदिनुस्, जहाँजहाँ बस्ती हुन्छन् त्यो बस्ती भएका ठाउँमा कसैले खानी चलाउन पाउँदैन भन्ने नीति बनाउनुस् । जहाँजहाँ खेतीयोग्य जमिन छ, त्यो खेतीयोग्य जमिनमा बस्ती बसाउन पाउँदैन भन्नुस्।’

बनेको नीति कार्यान्वयन गर्ने सन्दर्भमा पनि आवश्यक परे कठोर भएर प्रस्तुत हुनुपर्ने शाहीको राय छ।

‘कृषियोग्य जमिनमा कसैले बस्ती बसालेको छ भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले डोजर बोके जसरी बोकेर भत्काइदिनुस्। त्यसपछि बल्ल देश सही बाटोमा जान्छ,’ शाहीले भने।