मनसुनको सुरुमै बाढीपहिरोको प्रकोपः ताप्लेजुङमा ४ जनाको ज्यान गयो

  Sampatti News Online

June 14, 2024

काठमाण्डौँ । यस बर्ष मनसुनको सुरुमै बाढी पहिरो तथा भु–क्षयको जोखिम बढेको छ । अविरल वर्षासँगै आएको पहिरोमा परी ताप्लेजुङमा ४ जनाको ज्यान गएको छ ।
जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नम्बर २ खेजेनिममा गएराति करिब साढे १ बजे पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले बताएका छन् ।
ज्यान गुमाउनेमा फक्ताङलुङ गाउँपालिकाका ७० वर्षीय रामबहादुर साम्रा, ५० वर्षीया जसमाया साम्रा, गंगा र जमुना रहेका छन् । ४ जनाको शव घरदेखि करिब ५० मिटर तल फेला पारिएको वडाध्यक्ष चौलागाईले बताए । घरदेखि करिब २ सय मिटर माथिबाट आएको पहिरोले घरसहित ४ जना मानिस र ७० ओटाभन्दा बढी पशुचौपाया बगाएको हो ।
घट्नास्थलमा हाल सिँवा प्रहरी चौकीको टोली खटिएको र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक कमलकुमार लुङगेलीको नेतृत्वमा थप प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

प्रकाशित मिति:June 14, 2024