बागमती प्रदेश सरकारः मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण अध्ययन गर्ने

  Sampatti News Online

June 14, 2024

हेटौँडा । बागमती प्रदेश सरकारले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माणका लागि अध्ययन गर्ने भएको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्ने गरी अध्ययन गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय हेटौँडा अस्पताल र प्रतिष्ठान मुबिच स्वामित्व विवाद चर्किँदै जाँदा प्रदेश सरकारले प्रादेशिक अस्पताल निर्माणको अध्ययन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार मकवानपुरको हेटौँडा, बकैया वा मनहरी सहितका विभिन्न स्थानीय तहमा अस्पताल स्थापनाको लागि अध्ययन गरिने छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ अनुसार प्रादेशिक अस्पतालको रूपमा रहेको हेटौँडा अस्पताल प्रतिष्ठान अन्तर्गत रहने र मकवानपुरमा प्रादेशिक अस्पताल नरहेकाले अस्पताल स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिएको उनले बताए । बैठकको निर्णय अनुसार प्रदेशिक अस्पताल स्थापनाका लागि अध्ययन कार्यदल बनाएर अध्ययन गरी सोको प्रतिवेदनका आधारमा निर्माण कार्य सञ्चालनमा सरकार अघि बढ्ने उनले बताए ।

मन्त्री श्रेष्ठले प्रतिष्ठानको ऐन कार्यान्वयनको चरणमा रहेकाले हेटौँडा अस्पताल प्रतिष्ठान अन्तर्गत रहेको बताए । विभिन्न राजनीतिक दलहरुको माग अनुसार ऐन संशोधन गरेर अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने अवस्था नरहेको उनले बताए । ऐनको प्रभावकारी कार्यान्वयन गर्दै प्रतिष्ठानलाई व्यवहारिक ढंगबाट विकास गर्ने र हेटौँडा अस्पतालको स्तरोन्नति गर्ने गरी सरकार अघिबढेको उनले बताए । अस्पताल र प्रतिष्ठान बिच रहेको समस्याहरु क्रमशः हल गर्दै जाने उनले बताए ।

पछिल्लो समय प्रतिष्ठान र अस्पताल बिचको विवादमा दोहोरो प्रशासनको प्रमुख कारण देखिएकाले त्यसलाई छिट्टै नै हल गरेर ऐन अनुसार अघि बढ्ने उनको भनाई छ ।

प्रकाशित मिति:June 14, 2024