झापा । प्रेस चौतरी र प्रेस सेन्टर झापाले संयुक्त रुपमा बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले चिकित्सा विधेयकमा डा. केसीको उनान्सय प्रतिशत माग सम्बोधन गरिएको बताएका छन्।
उनले प्रस्तावित चिकित्सा विधेयकमा डा. गोविन्द केसीको माग र भावनाको सम्मान गरिएको बताउदै उहाँलाई हठ त्यागेर अनशन तोड्न पनि आग्रह गरेका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिका सदस्यसमेत रहेका नेता भट्टराईले डा. केसीसँग सरकारले छलफल र वार्ता गरेर विन विन को वातावरण सिर्जना गर्नुपर्छ ।
नेता भट्टराईले अहिलेको चिकित्सा विधेयकमा मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पुगेको ३०० शैयाको अस्पताल तीन वर्ष चलेको हुनुपर्ने प्रावधान उल्लेख गरिएको समेत जानकारी दिए ।
चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना गर्ने कुरा डा. केसीकै माग भएको बताउँदै उनले चिकित्सा शिक्षा अध्ययनका लागि वार्षिक अर्बौ रुपैयाँ विदेशिएकाले त्यसलाई रोक्न जरुरी रहेको र विधेयक पास भएपछि त्यस्तो अवस्था अन्त्य हुने धारणा व्यक्त गरे ।
नेता भट्टराईले विदेशका मेडिकल कलेजमा कमिसन लिएर विद्यार्थी बेच्ने काम भइरहेको र त्यस्ता गिरोहले डा. केसीलाई उचालेको बताउदै अहिले मापदण्ड नपुगेका मेडिकल कलेज पहुँचको भरमा चलिरहेका छन्, त्यस्तो कलेजको सम्बन्धन खारेज हुन्छ । चिकित्सा विधेयक पास भएपछि कुनै दलको नेता भएकै भरमा मेडिकल कलेज नचल्ने पनि उनले बताए ।