मनसुनी वायु विस्तारै पश्चिमतिर सर्न थाल्यो, मधेश र बाग्मतीमा आंशिक प्रभाव

  Sampatti News Online

June 15, 2024

काठमाण्डौ । पाँच दिनसम्म पूर्वी क्षेत्रमै सीमित रहेको मनसुनी वायु विस्तारै पश्चिमतिर सर्न थालेको छ । मधेश प्रदेशको पूर्वी भेग र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभाव देखिन थालेको मौसमविद सरोज पुडासैनीले जानकारी दिए। मनसुनी वायुकै प्रभावले बाग्मती प्रदेशका अरु ठाउँ र काठमाण्डौको आकाशमा बादल देखिएको उनले बताए ।

मौसमविदकाअनुसार मनसुनी वायु भित्रिनेबित्तिकै पानी पर्छ भन्ने हुँदैन । तर आज दिउँसो कोशी र बाग्मती प्रदेशका केही ठाउँ तथा मधेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले कोशी र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुकै प्रभावले वर्षा भएको मौसमविद पूडासैनीले जानकारी दिए। मनसुन पश्चिमतिर पुग्न भने अझै केही दिन लाग्नेछ ।

त्यसैले लुम्बिनी र सुदूरपश्चिम प्रदशेका तराई भेगमा अझै केही दिन गर्मी कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि पश्चिम तराईका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । नेपालमा यसपटक औसत समयभन्दा तीन दिन छिटो जेठ २८ गते मनसुन भित्रिएको हो ।

प्रकाशित मिति:June 15, 2024