लोक सेवा आयोगले शनिबार स्थापनाको ७४ औँ वार्षिकोत्सव मनाउँदै

  Sampatti News Online

June 15, 2024

काठमाडौँ । लोक सेवा आयोगले शनिबार स्थापनाको ७४ औँ वार्षिकोत्सव मनाउँदै छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यता रहने कार्यक्रममा विभिन्न संवैधानिक निकायका प्रमुख, लोक सेवा आयोगका पूर्वपदाधिकारी तथा पूर्वसचिव, नेपाल सरकारका सचिव, चार वटै सुरक्षा निकायका लामो समय आयोगमा कार्यरत रही हाल सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलगायतको बृहत् उपस्थिति रहने आयोगले जनाएको छ ।

आयोगले शुक्रबार जारी विज्ञप्ति अनुसार, आयोगको वार्षिकोत्सवको पूर्वसन्ध्यामा जेठ ३०, ३१ र ३२ गते अन्तरसंवैधानिक निकाय हाजिरीजवाफ प्रतियोगिता, आन्तरिक ब्याडमिन्टन प्रतियोगिता र रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ । हाजिरीजवाफ प्रतियोगितातर्फ निर्वाचन आयोग, राष्ट्रिय समावेशी आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । ब्याडमिन्टन खेलतर्फ अर्जुनप्रसाद रेग्मी र नरबहादुर बोगटीले प्रथम स्थान हासिल गरेका छन् ।

सोही अवसरमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, पूर्वअध्यक्ष कयोदेवी यमी र पूर्वसचिव डा। राजन खनालको सहभागितामा नेपाल टेलिभिजनबाट परिसंवाद, आयोगका सदस्य माधव बेलबासे, डा. भगवान कोइराला र राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाको सहभागितामा रेडियो नेपालबाट परिसंवाद र आयोगका सदस्य वीरबहादुर राईको सहभागितामा रेडियो नेपालबाटै अन्तरसंवाद कार्यक्रमसमेत आयोजना गरिएको छ । वार्षिकोत्सवका अवसरमा आयोगमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रमसमेत रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति:June 15, 2024