ज्येष्ठ नागरिकहरुमाथि दुर्व्यवहारका घटना बढ्दै

  Sampatti News Online

June 15, 2024

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले पछिल्लो समय ज्येष्ठ नागरिकहरूमाथि दुर्व्यवहारका घटना बढ्दै गएको जनाएको छ । आयोगले ज्येष्ठ नागरिकहरूमाथि दुर्व्यवहारका घटना बढ्दै जानु दुःखद पक्ष रहेको समेत बताएको छ ।

शनिबार आयोगका प्रवक्ता डा। टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै नेपालमा ज्येष्ठ नागरिकहरूमाथि हुने दुर्व्यवहारका प्रति २४ वटा घटनाहरूमा एउटा मात्र घटना कानुनी कारबाहीको दायरामा पुग्ने गरेको र बाँकी घटनाहरू मेलमिलाप र ढाकछोप गरिने तथ्याङ्कले न्यायमा पहुँच नपुगेको बताएका छन् ।

विज्ञप्तिमा ज्येष्ठ नागरिकहरूले पाउने स्वास्थ्य लगायतका सुविधाको प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताइएको छ । आयोगले ज्येष्ठ नागरिकहरूमा रहेको ज्ञान, सीप, अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न, ज्येष्ठ नागरिकको अधिकारको संरक्षण र संवर्द्धनका सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार र सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

प्रकाशित मिति:June 15, 2024