रास्वपाले नेतृत्व गरेका मन्त्रालय बेथितिमुक्त रहेको दाबी

  Sampatti News Online

June 15, 2024

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले नेतृत्व गरेको चार मन्त्रालय बेतिथिमुक्त रहेको दाबी गरेका छन् ।

आज रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा गृहमन्त्रीसमेत रहेका लामिछानेले रास्वपाको नेतृत्व गरेपछि बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम बन्द गरेको दाबी गर्दै केही खराब नगरिकन सरकारमा बस्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले भने, ‘हामी सहभागी भएको चार मन्त्रालयमा हामी नगएको भए अरु कोही गएर बेतिथि फैलाउने काम गर्ने थियो होला, कम्तीमा हामीले त्यो चार मन्त्रालयमा भएपनि बेतिथि रोक्ने काम त गर्यौं । हाम्रो नेतृत्व पश्चात बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम हामीले बन्द गरेका छौं, यो गर्व गर्ने विषय हो । नेपाली जनतालाई लुट्ने काम पनि रोकिएको छ । केही खराब नगरिकन हामी सरकारमा छौं ।’

सय दिन सरकारमा बसेर एउटा आधार तयार गरेका भन्दै आधारको जगमा टेकेर आगामी दिनहरुमा असल कार्यहरुलाई निरन्तरता दिने कोशिस गर्ने उनको भनाई छ ।

प्रकाशित मिति:June 15, 2024