तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा पशुपति क्षेत्र विकास कोषले हटाउदै

  Sampatti News Online

June 15, 2024

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने तयारी गरेको छ । तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहण भइसकेका तर मुआब्जा लिएरपनि घर जग्गा खाली नगर्नेहरूका लागि कोषले १५ दिने सूचना जारी गरेको हो ।

काठमाडौँ महानगरपालिका ८ तिलगंगा बी १३ आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनाहरू भत्काई लैजान १५ दिने सूचना जारी गरेको हो । म्यादभित्र ती संरचना नहटाए कानुन बमोजिम कोष आफैँले हटाई खाली गराउने कोषले जनाएको छ ।

अधिग्रहण भएको तिलगंगा आवासीय क्षेत्र खाली गराउन २०७७ साल असार ३ गते कोषले ३५ दिने सूचना जारी गरे पनि कोषबाट मुआब्जा बुझिसकेका अधिग्रहण प्रभावितहरूले हालसम्म पनि कच्ची, पक्की घर, टहरा, गोठ, पर्खाल खाली नगराएपछि कोषले १५ दिने सूचना जारी गरेको हो ।

सो क्षेत्रका झन्डै १ सय सङ्ख्याका पक्की तथा कच्ची घर टहरा हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषको स्वीकृत अवधारणात्मक गुरुयोजना अनुसार सरकारले २०६९ भदौ ६ गते तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनाहरू समेत स्थायी रूपले अधिग्रहण गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार २०७१ सालमा अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई मुआब्जा भुक्तानी भइसकेको कोषले बताएको छ ।

प्रकाशित मिति:June 15, 2024