कोशी प्रदेश सरकारः झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख

Nepal Cover
२ असार २०८१, शनिबार
image

बनियानी । झापामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले १० करोड ५३ लाख अनुदान प्रदान गरेको छ । जिल्लामा सञ्चालित कृषिका प्रवर्द्धनात्मक कार्यक्रमबाट प्रतिफल पनि प्राप्त भएको छ ।

चालु आवमा जिल्लामा कृषि प्रवर्द्धनका लागि कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले यहाँका १४ वटा स्थानीय तहलाई नौ करोड पाँच लाख र कृषि ज्ञान केन्द्रमार्फत एक करोड ४८ लाख उपलब्ध प्रदान गरेको जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो । कोशी प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराएको ससर्त अनुदानमा कृषि बजार निर्माण र सिँचाइलाई बढी प्राथमिकता दिएको छ ।

जिल्लाका छ पालिकाका १२ स्थानमा कृषि बजार निर्माण तथा पूर्वाधार विकासका लागि तीन करोड ४० लाख, ११ वटा पालिकामा सिँचाइ विस्तारका लागि तीन करोड ससर्त अनुदान दिएको प्रमुख विष्टले बताए। जिल्लाका तीन वटा पालिकामा कृषि यान्त्रिकीकरणका लागि ५५ लाख, गह्रा सुधार तथा चक्लाबन्दी खेतीका लागि ४० लाख, तोरी खेती तथा मौरीपालनका प्रवर्द्धन र तोरी प्रशोधन उपकरण खरिदका लागि ६० लाख उपलब्ध गराएको ज्ञान केन्द्रले जनाएको छ ।

नमूना कष्टम हाउसिङ सेन्टर स्थापनाका लागि ६० लाख, प्राङ्गारिक मल उत्पादन पूर्वाधार निर्माण गर्न ३० लाख र तरकारी सङ्कलन केन्द्र निर्माण गर्न २० लाख स्थानीय तहलाई ससर्त अनुदान उपलब्ध गराएको छ । कोशी प्रदेश सरकारले ज्ञान केन्द्रमार्फत जिल्लामा युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । युवा लक्षित तरकारी, च्याउ, मह उत्पादन कार्यक्रमअन्तर्गत ३९ जना युवालाई एकएक लाख अनुदान दिएको छ ।