June 16, 2024
काठमाडौं । पछिल्लो समयमा बिदेशी संघसंस्थाहरुले नेपालमा आयोजना गर्ने कार्यक्रमहरुमा जनप्रतिनिधी तथा सांसदहरु अल्झिरहने हुनाले स्थानिय जनप्रतिनिधीहरु देखि लिएर सांसदहरुले जनताको हितमा काम गर्न सकिरहेका छैनन् ।
यसैबिचमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा समभापति रहेको संसदीय समितिमा आइतबार अनौठो दृश्य देखिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उपस्थितहरूका लागि खाजा नै गैरसरकारी संस्था (एनजीओ) ले प्रायोजना गरेको भेटिएपछि बैठक नै खैलाबैला भई उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने सहित सांसदहरुले सुशासन समितीको बैठक बहिस्कार गरेका छन् ।
संघीय संसद् सचिवालयमा खासगरी युरोपिएन एनजीओको लगानी आइरहने कुरा अनौठो होइन । तर एनजीओले सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र सांसदहरूलाईसमेत आकर्षक भत्तासहित देश–विदेश घुमाउने कुरा त छदै छ । सुविधासम्पन्न होटलमा हुने गोष्ठीमा पनि एनजीओकै लगानी हुने गरेको छ ।
तर आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको खाजाको प्रायोजनसमेत एनजीओले नै गर्न भ्यायो । सभापति खतिवडा व्यक्तिगत तहमा हरेकसँग सम्बन्ध बनाउन सिपालु मानिन्छन् । उनको सिप आइतबारको बैठकमा भने उनैलाई घाँडो सावित भएको छ ।
बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ’ गर्ने एजेन्डा थियो ।
गृहमन्त्री लामिछानेसमेत उपस्थित बैठकका सहभागीलाई खाजा प्रायोजना गर्ने संस्था थियो, जनसंख्या र विकाससम्बन्धी विषयमा काम गर्दै आएको एलएक्सपिटीडी नामको संस्था । खाजाको प्याकेटमा चना, फलफूल, जाम–पाउरोटी, अण्डा, आलु आदि राखिएको बैठकमा सहभागी एकजना सांसदले बताएका छन् ।
बैठकमा खाजाको विशेष व्यवस्था गरिएकोबारेमा समिति सभापति खतिवडालाई कांग्रेसकै सांसद हृदयराम थानीले प्रश्न गरेका थिए । खतिवडाले हल्काफुल्का रुपमा लिँदै कतैबाट व्यवस्थापन गरिएको जवाफ दिएपछि थानीले यसलाई ठट्टाको विषय नबनाउन भनेका थिए ।
थानीले समितिको बैठकमा यस्तो महंगो खाजाको व्यवस्था कहिलेबाट भएको हो भनेर प्रश्न गरे। यसअघि कहिल्यै नदेखेको खाजा आएको भन्दै उनले यसबारे प्रष्ट जवाफ दिन सभापति खतिवडालाई भने । एउटा समितिले यति महंगो खाजा खुवाउन थालेपछि अरु समितिमा पनि दबाब पर्ने भन्दै थानीले धान्न नसकिने यस्ता अभ्यासलाई अघि बढाउन उचित नहुनेमा जोड दिएका थिए ।
थानीसँगै कांग्रेसका अन्य सांसदहरू सरिता प्रसाई र ईश्वरी न्यौपानेले पनि खतिवडालाई खाजाका विषयमा घेरे । उता राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले पनि खाजाबारेमा गम्भीर प्रश्न उठाउँदै स्पष्ट जवाफ चाहिएको धारणा राखिन् ।
उता गृहमन्त्री लामिछानेले पनि खाजामा विशेष व्यवस्था भएको देखेँ भन्दै सभापति खतिवडालाई सोधे । खतिवडाले संसद्भित्रैको कुरा भएको बताउँदै आन्तरिक ढंगले व्यवस्थापन गरिएको जवाफ फर्काए । त्यसपछि खाजा खानका लागि उनले आग्रह गरे । तर सांसदहरू चुप बसेनन्, उनीहरूले सभापति खतिवडाबाट सबै कुरा बुझेपछि बैठक नै बहिष्कार गरिदिए ।
खाजाको विषयमा समिति सभापति खतिवडाले चित्त बुझ्दो जवाफ दिन सकेनन् वा चाहेनन् । त्यसपछि राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरज दुराले खाजा एनजीओले प्रायोजन गरिदिएको खुलाए ।
बिहानै भएको बैठकमा एनजीओबाट खाजा प्रायोजन भएको थाहा पाएपछि गृहमन्त्री लामिछाने र समितिका सदस्य सांसदहरू बैठक बहिष्कार गरेर हिँडेका हुन् ।
नेपालको सुशासनमा गैरसरकारी संस्था बाधक बनेका छन् ।
प्रकाशित मिति:June 16, 2024
November 23, 2024