बाढी र डुवानका कारण १८ घर परिवार प्रभावित

  Sampatti News Online

June 19, 2024

काठमाण्डौ । बाढी र डुवानका कारण झापाका विभिन्न ठाउँमा गरी १८ घर परिवार प्रभावित भएका छन् । प्रभावितमध्ये आठ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । अस्ति सोमवार रातिदेखि परेको पानीले कचनकवल–५ खुट्टागञ्जका चार घर परिवार प्रभावित भएका प्रहरीले जनाएको छ ।

कुञ्जी राजवंशीको तीन जनाको परिवार पूर्णरुपमा विस्थापित भएका छन् । उनीहरु स्थानीय प्रभा राजवंशीको घरमा आश्रय लिएर बसेका छन् । स्थानीय देवी राजवंशी, कार्तिक राजवंशी र सञ्जय राजवंशीको परिवार डुबानका कारण जोखिममा परेका छन् ।

त्यसैगरी झापा गाउँपालिका–६ युवा टोलका चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । अर्जुनधारा–२ लाप्चेटारमा पुष्पा समाल मगरको घरमा क्षति पुगेको छ । उनीहरुलाई पनि सुरक्षित ठाउँमा सारिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

अर्जुनधाराको वडा–२ को रातेमा मदन भण्डारी राजमार्ग उत्तरतर्फका १० घर डुबानमा परेका छन् । त्यस्तै वडा–३ मा सुखानी खोलाको कजवेमा क्षति पुगेपछि आवागमन बन्द भएको ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति:June 19, 2024