संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेको निष्कर्ष

  Sampatti News Online

June 19, 2024

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोेकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार गोलेले आफ्नै निधारमा गोली हानेका हुन् । उनको शव बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो ।

उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए ।

प्रकाशित मिति:June 19, 2024