युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मन सरकारसँग आग्रह

  Sampatti News Online

June 19, 2024

काठमाण्डौँ । युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन राष्ट्रपति रामचन्द्र पौडेलले जर्मन सरकारसँग आग्रह गरेका छन् ।

जर्मनी भ्रमणका क्रममा समकक्षी फ्रयांक वाल्टर स्टाइनमायरसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । बुधबार बिहान स्वदेश फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्विट्जरल्याण्ड र जर्मनी भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रसचिव सेवा लम्सालले जर्मन भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेको जानकारी दिइन् ।

उनले जर्मनी भ्रमणमा त्यहाँका राष्ट्रपति डाक्टर फ्रयांक वाल्टर स्टाइनमायरसँग दुई पक्षीय भेटवार्ता भएको र विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यावसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मन सम्बन्धका सम्पूर्ण पक्षहरुमा छलफल भएको बताइन् । कृषि, पर्यटन र जलस्रोत लगायतका विकास प्राथमिकताबारे प्रकाश पार्दै यी क्षेत्रमा जर्मनीको सहयोग र लगानीका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गरेको बताइन् ।

त्यस्तै स्विट्जरल्याण्डको भ्रमणका क्रममा भियोला एमहर्डसँग भेटवर्ता गरेका थिए । भेटका क्रममा नेपाल—स्विट्जरल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल भएको सचिव लम्सालले बताइन् । दुवै पक्षबाट दुई पक्षीय सम्बन्धको विद्यमान अवस्थाका बारेमा सन्तोष व्यक्त गरिएको बताइन् ।

प्रकाशित मिति:June 19, 2024