डीडीसींले रकम भुक्तानी नगरेको भन्दै दुग्ध किसानको प्रदर्शन जारी

  Sampatti News Online

June 20, 2024

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसीं) ले रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत दुग्ध किसानहरु आज धर्नामा बसेका छन् । उनीहरु लैनचौरस्थित डीडीसी कार्यालय नजिक धर्नामा बसेका हुन् । उनीहरुले बुधबार डीडीसीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।

बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि किसानहरुले आन्दोलनलाई जारी राखेका छन् । यो विषयमा मन्त्री ज्वाला कुमारी साहले अर्थमन्त्रीसँग पनि छलफल गर्ने तयारी गरेकी छन् ।

सरकारले विगतमा सहमति गरे पनि ७ महिनादेखि दूधको भुक्तानी नगरेको भन्दै किसानहरु आन्दोलित भएका हुन् । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार गत वैशाखमा रकम थोरै भुक्तानी भए पनि लगातार भुक्तानी नहुँदा समस्या परेको बताए । उनका अनुसार किसानले अझै ४ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी छ ।

किसानहरुले बुधबार डीडीसीको कार्यालयमा तालाबन्दीको प्रयास गरेका थिए । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति:June 20, 2024