चीनको सिचुवान प्रान्तका भ्वाइस गभर्नर र गृह सचिव अर्यालबीच भेटवार्ता, यी विषयमा छलफल

  Sampatti News Online

June 20, 2024

काठमाडौँ । गृह सचिव एकनारायण अर्याल र चीनको सिचुवान प्रान्तका भ्वाइस गभर्नर तथा सिचुवान प्रान्तको सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हान्बिङबीच भेटवार्ता भएको छ ।

गृह सचिव अर्यालको निमन्त्रणमा हान्बिङको नेतृत्वमा आएको पाँच सदस्यीय चिनियाँ टोलीले गृह सचिव अर्याल नेतृत्वको प्रतिनिधिमण्डलसँग द्विपक्षीय छलफल गरेको छ ।

बुधवार दिउँसो गृह मन्त्रालयमा भएको भेटघाटको सुरुवात गर्दै गृह सचिव अर्यालले नेपाल सरकार र सिचुवान प्रान्तीय सरकारबिच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै सीमा सुरक्षा लगायत दुवै देशको सामाजिक, आर्थिक एवं पारस्परिक हितका विषयमा जोड दिए ।

सीमा सुरक्षामा समन्वय एवं सहकार्यमा जोड दिँदै गृह सचिव अर्यालले पूर्वाधार विकासमा चीनको सहयोगको उच्च प्रशंसा गरे । सचिव अर्यालले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण तथा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा नेपाल सरकार र चीनबिच भएको विपद् जोखिम न्यूनीकरण र आपत्कालीन प्रतिकार्यमा सहयोगसम्बन्धी समझदारी पत्र कार्यान्वयनमा ध्यानाकर्षण गराउँदै थप सहयोगको अपेक्षा रहेको बताए ।

गृह सचिव अर्यालले सीमापार अपराध नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिने दुवै देशका सुरक्षा अधिकारीहरूको बीचमा सहकार्य हुनुपर्ने धारणा राखे । उनले विपद् बाट हुने क्षति नियन्त्रणका लागि पूर्व सूचना प्रणालीको आवश्यकता माथि जोड दिए। यसका साथै विपद् पूर्व सूचना तथा प्रतिकार्यका लागि प्रविधि तथा उपकरणको सहयोगको अपेक्षा रहेको बताए । नेपाली सुरक्षा निकायको क्षमता अभिवृद्धि र आधुनिकीकरणमा निरन्तर सहयोग गर्न उनको आग्रह थियो ।

सिचुवान प्रान्तका भ्वाइस गभर्नर तथा सिचुवान प्रान्तको सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हान्बिङले सीमामा अवैध गतिविधि नियन्त्रण र व्यवस्थापन, सीमापार अपराध नियन्त्रण, नेपालमा चिनियाँ लगानीको संरक्षण र विशेष गरी सीमावर्ती क्षेत्रमा वन्यजन्तु अपराध नियन्त्रणमा कानुन कार्यान्वयनमा जोड दिए ।

चिनिया प्रतिनिधि मण्डलले गृहमन्त्री लामिछाने सँगसमेत भेट गरेको छ । भेटमा सुरक्षा सम्बन्धलाई सुदृढ गर्ने र द्विपक्षीय सहयोग प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ । विपद् व्यवस्थापन सम्झौता कार्यान्वयन, नेपाली सुरक्षा निकायलाई सहयोग र सीमा व्यवस्थापन लगायतका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह सचिव अर्यालले हान्बिङ र चिनियाँ प्रतिनिधिहरूको सम्मानमा दिउँसो दिवा भोजको आयोजना गरेका थिए ।

प्रकाशित मिति:June 20, 2024