नेकपा एसको विशिष्ट नेताको सुरक्षा फरक ढङ्गले

  Sampatti News

June 21, 2024

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको छ ।
महाधिवेशनस्थलमा आउने सबै प्रतिनिधि, शुभकामना दिन आउने विभिन्न पार्टीका नेता, पर्यवेक्षकलगायत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको जिम्मेवारी सो कमिटीलाई तोकिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए ।
पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा गठित १६ सदस्यीय कमिटीलाई पूर्णता दिइएको छ । कमिटीको सहसंयोजकमा जयन्ती राई, सचिवमा कृष्णराज पन्त छन् ।
कमिटीको सदस्यमा जगनाथ खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, विरोध खतिवडा, भानुभक्त जोशी, अमरबहादुर थापा, उदयबहादुर बोहोरा, राजेन्द्रलक्ष्मी गैरे, शर्मिला पौडेल, विनोद मैनाली, वसन्त बस्नेत, हरिप्रसाद शर्मा र सविता अर्याल छन् ।
यही असार १६ गतेदेखि २० गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको भावी नीति तथा कार्यक्रम घोषणाका साथै नयाँ नेतृत्व चयन गर्नेछ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट छुट्टिएको पार्टीले आसन्न महाधिवेशनलाई १०औँ राष्ट्रिय महाधिवेशन भनेको छ ।
आफूलाई २००६ सालमा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको उत्तराधिकारी मानेको एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौवटा महाधिवेशनको स्वामित्व लिँदै आगामी महाधिवेशनलाई १०औँ मानेको तर्क गरेको छ ।

-युबराज झा बाट

प्रकाशित मिति:June 21, 2024