बाबुरामको पार्टी छोडेका नेताहरु ‘न यता, न उता’

  Sampatti News 2024

June 22, 2024

विपुल अधिकारी
काठमाडौं । डा.बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा)बाट अलग भएका नेताहरुको अहिले विचल्ली भएको छ । नेसपा फुटेर नेकपा (माओवादी केन्द्र)मा जानका लागि महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठसहितका नेताहरूहरुले बाबुरामको पार्टी छोडेका थिए ।

न यता न उता भएका नेताहरुले चैत ३ मा माओवादीसँग एकता गर्न तयार भएर नेसपा छोडेका थिए । नेसपा छोडेर माओवादीसँग एकता गर्न प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लिखित रुपमै सहमति गरेका थिए ।
नेसपा छोडेका एक नेताका अनुसार माओवादीकै बेवास्ता र आलटालका कारण माओवादीमा विलय हुने प्रकृया रोकिएको हो । सिङ्गो पार्टी नै माओवादीसँग एकता गर्न सहमति नजुट्ता बाबुराम समूहलाई छोडेर यादवसमूहमात्र फुटेर माओवादीसँग एकता गर्न आएको थियो ।

माओवादीसँग एकता गर्न चारबुँदे सहमति गरेको दुई पक्षबीच वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न माओवादीका तर्फबाट महासचिव देव गुरुङ र महिन्द्र पक्षबाट नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा कार्यदल बनाएर प्रकृया अघि बढाइएको थियो ।

स्रोतले बताए अनुसार सहमति भएको मिति चैत ३ यता एक पटक मात्र कार्यदलको बैठक बसेको छ । माओवादीका एक नेताका अनुसार पछिल्लो समय एकताको लागि छलफलनै चलेको छैन । ति नेता भन्छन्– ‘महेन्द्र जीहरु माओवादी भइसक्नुभएको छ । अब उहाँहरुसहितका नेताहरुलाई पदिय जिम्मेवारी दिन मात्र बाँकी छ ।’

माओवादीका एक पदाधिकारीका अनुसार महिन्द्रलाई पदाधिकारी र गंगानारायणलाई केन्द्रीय समितिमा समेट्ने प्रयास भइरहेको छ । अध्यक्ष प्रचण्डले उक्त प्रकृयामा समय दिन नभ्याएका कारण अन्य नेताले चासो नदिएको महिन्द्रनिकट एक नेताको भनाई छ ।

यता नेसपाले भने एक सूचनानै निकालेर महिन्द्रलाई कार्वाही गरेको जनाएको छ । नेसपाले पार्टी हितविपरीत काम गरेको, स्पष्टिकरण माग्दा चित्त बुझने स्पष्टिकरण नआएकोलगायतका कारण कार्वाही गरिएको जनाएको छ ।
महिन्द्र भने नेसपाले आफूलाई कारबाही गर्न नमिल्ने बताउँछन् । उनी भन्छन् ‘बाबुरामजीले कारबाही गरेर केही हुन्न । हामी एकताको तयारीमा छौँ । एकता अब भइहाल्छ ।’


महिन्द्र निकट स्रोत भन्छ – ‘एकता महाधिवेशन अब चाडै हुन्छ । जुन महाधिवेशनमा पार्टीको नाम फेरिन्छ, हामी मात्र होइन । विप्लव (नेत्रविक्रम चन्द) सँग पनि एकता हुन्छ ।’

महिन्द्रलाई अघि सारे मधेशमा माओवादी शक्ति बढ्ने प्रचण्डको अनुमान छ । हुन त माओवादीसँग एकता प्रक्रियामा सहमति हुँदा महिन्द्र प्रचण्डकै नेतृत्वमा खानेपानी मन्त्री थिए ।

नेसपाबाटै माओवादीसँग एकता गर्न तयार गंगानारायण भने बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री छन् ।
माओवादीका महासचिव गुरुङले महाधिवेशनपछि पार्टी एकता हुने बताए पनि महाधिवेशन कहिल्यै हुने टुंगो छैन । माओवादीको आठौँ महाधिवेशन २०७८ पुसमा भएको थियो।

प्रकाशित मिति:June 22, 2024