पत्रकार महासंघको निर्णयप्रति समाजवादी प्रेस संगठनको आपत्ति

  Sampatti News 2024

June 22, 2024

काठमाडौं । पत्रकार महासंघले शुक्रबार राति असार २२ गते मतदान हुनेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको प्रति समाजवादी प्रेस संगठनले आपत्ति जनाएको छ ।

संगठनले सदस्यता विवाद हल नगरी नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति शनिवार एक विज्ञप्ति सार्वजनीक गर्दे आपत्ति जनाएको हो ।

शनिबार संगठनका अध्यक्ष विश्वमणि सुवेदीले विज्ञप्ति जारी गर्दै सदस्यता विवाद हल गरेरमात्रै निर्वाचन कार्यक्रम सार्वजनिक गरिनुपर्छ भन्ने बहुसंख्यक पत्रकार संगठनको मागलाई महासंघले लत्याएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘महासंघको निर्वाचन गर्नका निम्ति तयार पारिएको सदस्यता विवरणमा आपत्ति जनाउँदै हामीले तालाबन्दी गर्नुपरेको थियो । अहिले त्यही विवरणका आधारमा निर्वाचन गराउन खोज्नु आपत्तिजनक छ ।’

दुई बुँदे सहमति गर्दै तालाबन्दी गर्नुपर्नाका कारणलाई हल गरिने, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, अन्तरजिल्ला स्थानान्तरण र शुद्धीकरणका सम्बन्धमा तालाबन्दी गर्ने तीन संगठनका मागलाई सम्बोधन गरिने प्रतिवद्धता पत्रमा महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले हस्ताक्षर गरेपनि प्रतिवद्धताविपरितको सदस्यता विवरणका साथ निर्वाचनलाई अगाडि बढाउन खोज्नु निन्दनीय भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ,‘पत्रकारलाई महासंघको सदस्यताबाट बञ्चित गर्ने र गैरपत्रकारका नाम थप्ने होडबाजीबीच तयार पारिएको सदस्यता सूची खारेज गरिनुपर्छ । न्यायोचित सदस्यता सूची प्रकाशित नगरी हुने निर्वाचन महासंघलाई निश्चित संगठनको सिण्डिकेट बनाउने परिपञ्च हो, हामीलाई त्यस्तो निर्वाचन स्वीकार्य छैन ।’

सहमतिका साथ सदस्यता विवाद सुल्झाउन र निर्वाचन कार्यक्रम ल्याउन महासंघ आग्रह गरेका छन्।

प्रकाशित मिति:June 22, 2024