भारतको सुपर आठमा लगातार दोस्रो जित

  Sampatti News

June 23, 2024

काठमाडौं । वेस्टइण्डिज र अमेरिकामा जारी आइसिसी टी–२० विश्वकपमा भारतसँग बंगलादेश पराजित भएको छ । गएराति भएको खेलमा भारतले बंगलादेशविरूद्ध ५० रनको जित निकाल्यो ।
यससँगै सुपर आठअन्तर्गत भारतले लगातार दोस्रो जित निकालेको छ भने बंगलादेश लगातार दोस्रो पराजित भएको हो । भारतले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ८ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सक्यो ।
बंगलादेशका लागि कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ४० रन बनाए। उनले ३२ बलमा १ चौका र ३ छक्का हाने ।
तान्जिड हसनले ३१ बलमा ४ चौका हानेर २९ रन जोडे। रिशद हुसेनले १० बलमा १ चौका र ३ छक्का हानेर २४ रनको योगदान गरे । ओपनर लिटन दास र महमुद उल्लाहले १३/१३ रन, शाकिब अल हसले ११ रन जोडे ।
यस्तै, बलिङतर्फ भारतका कुलदीप यादवले तीन विकेट, अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ तथा हार्दीक पाण्ड्याले एक विकेट लिए । पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । त्यस क्रममा हार्दीक पाण्ड्या अर्धशतक हानेर नट आउट रहे । उनले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५० रन बनाए ।
विराट कोहलीले २८ बलमा १ चौका र ३ छक्का हानेर ३७ रन बनाए । रिशभ पन्तले २४ बलमा ४ चौका र २ छक्का हानेर ३६ रन जोडे । शिवम् दुबेले २४ बलमा ३ छक्का हानेर ३४ रनको योगदान गरे। ओपनर तथा कप्तान रोहित शर्माले ११ बलमा ३ चौका र १ छक्का हानेर २३ रन जोडे ।
बलिङतर्फ बंगलादेशका तान्जिम हसन शकिब र रिशद हुसेनले २/२ तथा शाकिब अल हसनले १ विकेट लिए । जितसँगै भारतले सेमिफाइनल सम्भावना बलियो बनाएको छ भने बंगलादेश अन्तिम आठबाटै बाहिरिने निश्चित भएको छ ।

प्रकाशित मिति:June 23, 2024