आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

Nepal Cover
१२ असार २०८१, मंगलवार
image

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा उपसभामुख सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरेका हुन् । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए।

उक्त बजेटलाई अर्थमन्त्री पुनले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए। बजेट पारितको प्रस्तावअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग,उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।