वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउन देखि अनलाइन अनिवार्यः परराष्ट्रमन्त्री श्रेष्ठ

  Sampatti News 2024

June 29, 2024

काठमाडौं । वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउन १ गते देखि पूर्णरुपमा अनलाइन मार्फत हुने भएको छ ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रवार साँझ विदेश स्थित नेपाली नियोगका प्रमुखहरू तथा कर्मचारीहरु का लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्देशन दिँदै उक्त व्यवस्था बारे स्पष्ट पारे ।

नयाँ व्यवस्था अनुसार रोजगारदाता कम्पनीले नेपालवाट कामदार लैजाने नियोगसमक्ष पेश गरेको आवश्यक कागजातहरु साउन १ गते देखि अनलाइन मार्फत प्रमाणीकरण हुने भएकोले सेवाप्रवाह समयानुकुल एबं चुस्त हुने भएको छ ।

सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आवद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो ।

खाड़ी मुलुक एवं मलेसिया लगाएत नेपाली कामदार माग हुने अन्य देशहरूमा रहेका नेपाली राजदुतावासहरु ले साउन १ गते देखि मागपत्र प्रमाणीकरण अनिवार्यरुपमा अनलाइन मार्फत गर्नु पर्ने बताउँदै परराष्ट्रमन्त्री श्रेष्ठ ले भने, ‘सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सरकारको नीति अन्तर्गत यो व्यवस्था लागू गरिएको हो । अनिवार्य रूपमा लागू गर्न अघिनै नयाँ प्रणाली सँग अभ्यस्त हुनुका लागि आजैबाट परीक्षण सुरु गर्दा हुन्छ ।’

परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकहरुको खोजतलाश, उद्दार, मृतको शव झिकाउने, राहत, क्षतिपूर्ति, गुनासो सम्बोधन लगायतका अनलाइन सेवालाई सबै नियोगहरु ले अनिवार्य रूपमा प्रयोगमा ल्याउने व्यवस्था गर्न पनि निर्देशन दिए ।

प्रकाशित मिति:June 29, 2024