‘संविधान संशोधनमा सहमत दललाई ओली नेतृत्वको सरकारमा सहभागि गराईने’

  Sampatti News 2024

July 2, 2024

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच सोमबार मध्यराति भएको सहमतिमा सहमत हुने दलहरुलाई अब बन्ने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय सहमतिको सरकारमा सहभागी गराइने भएको छ ।

कांग्रेस र एमालेबीच सहमति प्रक्रियामा शुरुदेखि काम गरेका एमाले महासचिव शंकर पोखरेलले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् सो जानकारी गराएका हुन् ।

पोखरेलले भनेका छन्, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानुनसमेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने ।’

कांग्रेससँगको सहमतिका लागि एमाले अध्यक्ष ओलीले महासचिव पोखरेललाई परिचालन गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले भने एमालेसँगको सहमतिका लागि रमेश लेखकलाई परिचालन गरेका थिए । हिजो सोमबार दिउँसो पुल्चोकस्थित भिभान्त होटलमा उनीहरुले सहमतिको ड्राफ्ट तयार पारेका थिए । राति सवा १२ बजे काठमाडौैंको चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको निवासमा देउवा र ओलीले हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति:July 2, 2024