राप्रपाले राजधानीकेन्द्रीत आन्दोलनका लागि देशभरबाट युवा दस्ता तयार पार्दै

  Sampatti News 2024

July 3, 2024

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीकेन्द्रीत आन्दोलनका लागि देशभरीबाट बीस हजार युवा दस्ता तयारी राख्ने कार्ययोजना अघि सारेको छ ।

बर्षा यामपछि हुने निर्णायक आन्दोलनका लागि देशभरीका ६,७४३ वडाबाट प्रतिवडा कम्तिमा तीन जना जुझारु युवा राप्रपाले छनौट गर्नेछ । चुनिएका युवाहरुलाई राप्रपामा आवद्ध पूर्वसुरक्षाकर्मीहरुले विशेष प्रशिक्षण दिनेछन् ।

महामन्त्री तथा आन्दोलन परिचालन समिति संयोजक धवलशम्सेर राणाको अध्यक्षतामा केन्द्रीय कार्यालय चावहिलमा बुधबार बसेको वैठकले देशव्यापी रुपमा प्रत्येक हप्ता मठमन्दिर सफाई गर्न राप्रपाका महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिका समितिहरुलाई निर्देशन दिएको छ । प्रत्येक हप्ता संचालन हुने मन्दिर सफाई कार्यक्रम दशै, तिहार र छठसम्म जारी रहनेछ ।

महामन्त्री राणाका अनुसार, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिहरु र राप्रपासम्वद्ध जनवर्गीय संगठनहरुले साउन महिनासम्म काठमाडौं उपत्यकाभित्र विरोध कार्यक्रमहरु आयोजना गर्नेछन् ।

सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचार र अनियमितताका विरुद्धमा नगर समितिले प्रभावकारी कार्यक्रम संचालन गर्नेछ भने सो कार्यक्रमको अनुगमन गर्न पार्टीका जिल्ला अध्यक्षलाई वैठकले जिम्मेवारी दिएको छ ।

आन्दोलन परिचालन समितिले समान विचारधारा भएका दल, समूह, संघसंस्था र व्यक्तिसँग अन्तरक्रिया जारी राख्नेछ । धार्मिक संगठन, पत्रकार, वकिल, प्राध्यापक, चिकित्सक, उद्योगी व्यापारीलगायत बुद्धिजीवीसँग राप्रपाले आन्दोलनको क्रममा अघि सारेको ४० बुँदे मागका विषयमा अन्तरक्रियाहरु आयोजना गर्नेछ ।

किसानलाई मलखाद्य सहज उपलब्ध र वितरण गर्न राप्रपासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले केन्द्रमा कृषि मन्त्री र जिल्लामा कृषि सामाग्री कंपनी लिमिटेडलाई ज्ञापन पत्र बुझाउनेछ ।

प्रकाशित मिति:July 3, 2024