जसपाले एक महिनापछि कार्यसमिति सदस्यको नामावली सार्वजनिक गर्यो

  Sampatti News 2024

July 11, 2024

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशन सम्पन्न भएको झण्डै एक महिनापछि आज बिहीबार कार्यसमिति सदस्यको नामावली सार्वजनिक गरेको छ ।

गत जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा सम्पन्न एकता महाधिवेशनले उपेन्द्र यादवलाई अध्यक्षमा निरन्तरता दिएको भएपनि बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयन गर्न बाँकी थियो । महाधिवेशनले पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयन गर्न जिम्मेवारी पनि अध्यक्ष यादवलाई नै दिएको थियो ।

अध्यक्ष यादवले आज २१५ जना रहेको केन्द्रीय समितिको घोषणा गरेकोमा आफूसहित नौ जनालाई केन्द्रीय कार्यकारिणी समितिमा राखेका छन् । केन्द्रीय कार्यसमितिमा रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह यादव, मनिषकुमार सुमन, राजकिशोर यादव, लालबहादुर राउत र शिवलाल थापा मगर रहेका छन् । केन्द्रीय कार्यसमितिमा महिलाको संख्या शून्य छ ।

प्रकाशित मिति:July 11, 2024