किन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन हतास देखिन्छन् ?

  Sampatti News 2024

July 11, 2024

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन आजकल दवाबमा देखिन्छन् । औपचारिक कार्यक्रमहरुमा पार्टी अध्यक्षको ‘लूज टक‘ सुन्दा लिङ्देनलाई आफ्नो भूमिका सुचारु गर्न हम्मेहम्मे परेको निष्कर्ष कार्यकर्ताहरुले लिन थालेका छन् । पार्टीभित्र र बाहिरको भूमिकामा अध्यक्ष चुकेको हो कि भन्ने धेरैको बुझाइ छ ।

केन्द्रीय समिति, कार्यसम्पादन समिति जस्ता वैठक र भेलाहरुमा यस किसीमको आभाष हुन थालेको जस्तो देखि । बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको आन्दोलन विषयक छलफलमा लिङ्देन हतास देखिएको उपस्थितिहरुले महसुस गरे । आन्दोलन, सरकार वा पार्टी निर्माणका हकमा उनले कुनै ठोस कार्यक्रम दिएनन् बरु आफ्नो बचाउमा अधिकतम समय खर्चिए ।

‘कुनै समयको तीनजना अध्यक्ष भएजस्तो समयको म अध्यक्ष हैन । म महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुँ,’ आन्दोलन विषयक वैठकमा बोल्दै लिङ्देनले भने । आफू अध्यक्ष भएको कुरा उनले धेरै पटक भनीरहे र अनावश्यक आरोप लागेको भन्दै सफाइ प्रस्तुत गरिरहे ।

‘अध्यक्षले राप्रपाको बृहत्तर हित तथा विकासका बारेमा कुनै कार्यक्रम र रणनीति प्रस्तुत गरेनन् । पछिल्लो केन्द्रीय समिति वैठकमा अध्यक्षबाट कुनै भिजन आएन, आन्दोलनको वैठकमा समेत सोही परिदृश्य दोहोरियो । मूलतः उनको व्यवस्थापन क्षमता र अनुभवको कमी बाहिर आउन थालेको छ,’ राप्रपाका नेता बताउँछन् ।

कार्यकर्ताहरु अध्यक्षबाट ठोस गति र दिशा चाहन्छन् । सबैलाई समान व्यवहार र संरक्षण भएको हेर्न चाहन्छन् । तर अध्यक्षले कार्यकर्तालाई हप्काउने, धम्काउने मात्र गरेपछि कार्यकर्ताहरु निराश भएका छन् ।

एक केन्द्रीय सदस्य भन्छन्, ‘अध्यक्षको प्रस्तुतिमा सामन्ती शासकको छनक देखिन्थ्यो । उहाँको बोलीमा ‘म नै राज्य हुँ, मैले जे बोलेँ त्यो कानून हो र मेरो हुकुम निशर्त पालना हुनुपर्छ’ भन्ने जस्तो सन्देश थियो । भिजन र कार्यक्रमभन्दा अध्यक्षले आक्रोश र कुण्ठा व्यक्त गर्नुभयो । गाउँ टोलमा सुनिने गन्थनमन्थनको तहमा पार्टी नेतृत्व उत्रिएपछि लाज लाग्यो, धिक्कार महसुस भयो ।’

लिङदेनले आन्दोलनको वैठकमा आरोपहरुको खण्डन गर्दै भने, कहिले सांसद बनाउँदा करोड खायो भनेका छन् त कहिले महिला कार्यकर्तासँग गाडी चढेर घर गयो भनेका छन् ।

उनले आफूलाई कमजोर नआक्न उपस्थित नेता कार्यकर्तालाई सचेत गराए र आवश्यक भए अनुशासनको कारवाही चलाउने पटकपटक चेतावनी दिए ।

प्रकाशित मिति:July 11, 2024