आइतबार मात्र केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी

  Sampatti News 2024

July 13, 2024

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्तरूपमा शुक्रबार राति प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नाम पेस गरेका छन्।

संसद्का ठूला दुई दलसहित जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीले ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका थिए। राष्ट्रपतिलाई दलहरूले १६६ सांसदको हस्ताक्षर राष्ट्रपतिकहाँ बुझाएका छन्।

शुक्रबार नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत नपाएपछि राष्ट्रपतिले अर्को सरकार गठनको प्रक्रिया सुरु गरेका थिए। संविधानको धारा (७६) को उपधारा २ अन्तर्गत ओलीलाई प्रधानमन्त्री बनाउन दलहरू लागेका हुन्। राष्ट्रपतिले आउँदो आइतबार ५ बजेसम्मका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न अनुरोध गरेका थिए।

तर, दलहरूले शुक्रबार राति नै दाबी पेस गरे।

राष्ट्रपतिले आवश्यक अध्ययन गरेर आइतबार मात्रै नियुक्ति गर्ने सचिवालयको भनाइ छ।

प्रकाशित मिति:July 13, 2024