अल्का अस्पतालकी एक कर्मचारीको घाँटि थिचेर हत्या, शव गोदावारी जंगलमा

  Sampatti News

September 5, 2020

ललितपुर । लितपुरको अल्का अस्पतालमा कार्यरत एक कर्मचारी को हत्या भएको छ । ३९ वर्षीय गीता केसीको हत्या भएको हो । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको छ ।

हत्यामा संलग्न भएको आशंकामा उनको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनी अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा रहेका छन् । उनलाई थप अनुसन्धानका लागि त्यहाँ लगिएको हो ।

प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ । केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।

शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझाले बताए ।

हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन । यद्यपि, पोष्टमार्टमपछि विस्तृत जानकारी आउनेछ ।

ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङले हत्याको कारणबारे अनुसन्धान भइरहेको बताए । उनले ज्यान सम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गछौं गरिने समेत जानकारी गराएका छन् ।

प्रकाशित मिति:September 5, 2020