कांग्रेसमा खैलाबैलाः नेता चन्द्र भण्डारी मन्त्री बनाईदिन भन्दै बालकोटमा !

  Sampatti News 2024

July 14, 2024

काठमाडौं । नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्ने निर्णय लिएपछि मन्त्रीका आकांक्षीहरु नेताको घरदैलोमा पुग्न थालेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि योगदान र योग्यतामा आधारित मापदण्ड तय गरेपछि नेताहरु आफू निकटका नेताकामा मात्र नभइ ओली निवासमै पुगेका छन् । कांग्रेसकै नेताहरु मन्त्री बनाइदिन आग्रह गर्दै ओली निवास बालकोट नै पुगेपछि कांग्रेसबृत्तमा खैलाबैला मच्चिएको छ ।

कांग्रेस नेता डा।शेखर कोइराला, महामन्त्री गगन थापा टीमबाट मन्त्री बन्नका लागि बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल,डाक्टर चन्द भण्डारी हृदयराम थानी, प्रतिमा गौतम, लिला बोखिम, रामनाथ अधिकारी, संजय गौतम, लगायतको नाम चर्चामा छ । त्यस्तै सभापति शेरबहादुर देउवा टीमबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, ऐनबहादुर शाही, किशोर सिंह राठोर, विनोद चौधरी, उदय शमशेर राणालगायतको नाम चर्चामा छ ।

ओली नेतृत्वको सरकारमा कांग्रेसको भागमा ९ मन्त्रालय पर्ने मोटामोटी सहमति भएको छ । तर आफ्नो गुटबाट मन्त्री बन्ने संभावना कम भएपछि कांग्रेस नेता चन्द्र भण्डारी ओली निवास बाल्कोटमै पुगेर देउवालाई फोन गर्न लगाएको चर्चा बाहिरिएको छ । ओली सचिवालय स्रोतले भन्यो,‘भण्डारीजी आउनुभएको थियो । एक पटक मन्त्री बनेर राजनीतिबाट विश्राम लिने इच्छा जाहेर गर्नुभयो । शारीरिक रुपमा अशक्त भएको साथै आफ्नो टिमबाट नाम सिफारिस हुने संभावना न्यून रहेको दुखेसो गर्नुभयो । अध्यक्षज्यूसँग लामै गफगाफ भयो । त्यसपछि अध्यक्षज्यू र देउवाबीच संवाद भएको छ ।’

डा.भण्डारी २०६४, २०७० र २०७४ को राष्ट्रिय निर्वाचनमा गुल्मी–२ बाट उम्मेदवार भएका थिए । ०७० मा विजयी भएका थिए भने गुल्मी क्षेत्र नम्बर १ बाट ०७९ को निर्वाचनमा गठबन्धनकातर्फबाट विजयी भएका थिए । आगामी निर्वाचनमा एमालेका प्रदीप ज्ञवालीलाई सहज बनाइदिन एक पटक मन्त्री बनेर राजनीतिक विश्राम लिनका लागि ओलीको शरणमा पुगेको हुनसक्ने कांग्रेस नेताहरुबीच चर्चा छ ।

वि.स. २०४८ सालमा तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई (किशुनजी) काठमाडौं–१ बाट चुनाव लड्दा मदन भण्डारीसँग मिलेर काङ्ग्रेस लाई हराउन भुमिका खेलेको आरोप लागेका भण्डारी अहिलेसम्म पनि त्यो आरोप बाट चोखिएका छैनन्। भट्टराईलाई हराउन सक्रिय भूमिका खेलेको आरोप लाग्दै आएका भण्डारी ओली निवासमा पुगेर देउवासँग संवाद बढाएको घट्नाले कांग्रेसभित्र अनुशासनविहीनताको अवस्था आएको भन्दै नेताहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । सभापति देउवा समेत झस्केको बताइन्छ ।

नेता भण्डारी बालकोट नगएको भन्दै भण्डारी सचिवालय बाट समाचारको खण्डन गरेको छ । सम्पत्ति न्युजमा आज प्रकाशित समाचारको बारेमा नेता भण्डारीको सचिवालयका नेबिसघ केन्द्रिय सदस्य भुवन भट्टले खण्डन गरेका छन् । समाचारमा कुनै सत्यता नभएको र भण्डारी कतै नगएको भट्टले बताए ।

प्रकाशित मिति:July 14, 2024