नेपाली कांग्रेसबाट पहिलो पटक मुगुबाट मन्त्री बने ‘ऐनबहादुर’

  Sampatti News 2024

July 15, 2024

काठमाडौं । नयाँ समिकरणमा गठन भएको सरकारमा मुगुबाट पनि पहिलो पटक मन्त्री बनेका छन् । नयाँ सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बनेका छन् ।

मुगुमा लोकप्रिय नेताका रुपमा परिचित शाही नेपाली कांग्रेसबाट पहिलो पटक मुगुबाट मन्त्री बनेका हुन् ।

शाही कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेत हुन् ।

आम नागरिकसँगै पार्टीभित्र र अन्य पार्टीका कार्यकर्तासँग पनि राम्रो सम्बन्ध बनाएका शाहीसँग मुगुवासीले ठूलो अपेक्षा राखेका छन् ।

शाही हाल मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । उनी वहालवाला मुगुका जिल्ला पार्टी सभापती पनि हुन् ।

को हुन मन्त्री शाही

मुगुको अति विकट मानिएको सोरु गाउँपालिका–२ मा २०२६ सालमा विपन्न परिवारमा जन्मिएका हुन शाही । २०४५ सालबाट विद्यार्थी आन्दोलनबाट उनले राजनीति सुरु गरेका हुन् ।

बहुदलीय व्यवस्था पछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा शाही मुगु जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

२०७० मा पहिलो पटक संविधान सभा सदस्यको उम्मेदवार बनेका शाही झिनो मतान्तरले पराजित हुन पुगेका थिए । शाही फेरी दोस्रो पटक २०७८ मा कांग्रेस मुगु सभापति बनेका थिए ।

उनी २०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति:July 15, 2024