बीस हजार युवा दस्ता तयार पार्दै राप्रपा, आन्दोलन र संगठन विस्तारको रणनीतिक कार्यक्रम सुरु

  Sampatti News 2024

July 20, 2024

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलन र संगठन विस्तारको रणनीतिक कार्यक्रम काठमाडौं उपत्यकामा आरम्भ गरेको छ । राप्रपाले आन्दोलनका लागि देशभरीका वडाबाट बीस हजार युवा दस्ता तयार गर्ने योजना राखेको छ ।

‘संगठन आन्दोलनको निम्ति, संगठन निर्वाचनको निम्ति, यही रणनीति र उद्देश्य लिएर राप्रपा अघि बढेको छ । जनताले राप्रपाको एजेण्डालाई मन पराएका छन्, राप्रपाप्रति आशावादी छन् । त्यसैले देशमा विद्यमान विकृति, विसंगति, भ्रष्टाचार लगायतका वेथिति अन्त्य गरेर जनताको अपेक्षा पूरा गर्न राप्रपा वडा तहसम्मको संगठन मजबुत बनाउन लागीपरेको छ,’ राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख डा धवलशम्सेर राणाले शनिबार भने ।

‘काठमाडौं उपत्यकाभित्रका वडाबाट कम्तिमा दश युवा र अन्यत्र वडाबाट कम्तिमा तीनजना युवा दस्ता तयार गर्ने लक्ष्य कार्यान्वयनमा गइसकेको छ,’ भन्दै महामन्त्री राणाले यसै रणनीतिक कार्ययोजना मनन् गरेर वडा र नगर तहमा सक्रियपूर्वक अघि बढ्न पार्टीका चाँगुनारायण नगर समिति र अन्तर्गत वडा समितिहरुलाई निर्देशन दिए ।

महामन्त्री कुन्ती शाहीले राप्रपाले निर्णायक आन्दोलन गरेर राजा सहितको प्रजातन्त्रको लक्ष्य प्राप्त गर्ने बताइन् । ‘वडासम्म गएर युवा दस्ता तयार गर्ने, प्रशिक्षित तुल्याउने भनेको निर्णायक आन्दोलनकै तयारी नै हो, आन्दोलनकै एक क्रम हो,’ उनले भनिन् ।

प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले विश्वको बदलिँदो शक्ति सन्तुलन, देशको आन्तरिक परिस्थिति, जनताको चाहना सबैबाट नेपालमा परिवर्तन निश्चित देखिएको बताए । ‘विगत १५ वर्षमा १४ पटक सरकार परिवर्तन भएर नेपालले विश्व किर्तिमान राखेको छ । फेरि देशमा स्थीरता दिन्छु भन्ने कांग्रेस–एमाले गठबन्धन स्वयमले आलोपालो सरकारको सहमति गरेर सरकार परिवर्तन र अस्थिरिताको उद्घोष गरिसकेको छ । यस्ता अन्तरविरोधबाट देश र समाजले उन्मुक्ति चाहेको छ,’ लावतीले भने ।

चाँगुनारायण नगर समिति अध्यक्ष रमेश अधिकारीको अध्यक्षतामा सम्पन्न संगठन विस्तार कार्यक्रममा सहमहामन्त्री रवीन्द्रप्रताप शाहले पात्र र प्रणालीमा देखिएका समस्याको जड सम्बोधन गरेर युवाहरु विदेशीने क्रम सम्बोधन गर्नुपर्ने बताए । भक्तपुर जिल्ला अध्यक्ष अर्जुन कार्कीले पार्टीको निर्देशनअनुसार आन्दोलनमा होमिन तयार रहेको तर केन्द्रले जिल्ला र स्थानीय तहको सल्लाह सुझाव मनन् गर्नुपर्ने बताए ।

राप्रपाले बीस हजार युवा दस्तालाई भूपू सेना र प्रहरीबाट आन्दोलनकेन्द्रीत विशेष प्रशिक्षण दिने तयारी गरेको छ । नगर समिति अध्यक्षको नेतृत्वमा नगरस्तरीय आन्दोलन परिचालन समिति निर्माण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति:July 20, 2024