प्रधानमन्त्री ओलेले आज विश्वासको मत लिदै, लगभग दुईतिहाइ समर्थन

  Sampatti News 2024

July 21, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिदैछन् । नेकपा (एमाले)ले आफ्ना सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र पक्षमा मतदान गर्न ह्व्पि जारी गरिसकेको छ ।

एमालेले संसद्मा प्रतिनिधित्व गर्ने दलदेखि स्वतन्त्र सांसदहरुलाई समेत विश्वासको मत दिन आग्रह गरेको हो । सत्ता गठबन्धनको अर्को ठूलो दल नेपाली कांग्रेसले आजै संसदीय दलको बैठकबाट प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गर्दैछ । प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे विश्वासको मत लिँदै छन् । त्यसअघि दिउँसो १२ बजे बस्नेगरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । गत असार १७ गते कांग्रेस र एमालेबीच मिलेर नयाँ सरकार बनाउने समझदारी भएसँगै एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि असार २८ मा तत्कालीन प्रचण्डले पेस गरेको विश्वासको मतको पक्षमा जम्मा ६३ मत परेको थियो भने विपक्षमा १९४ मत परेको थियो ।

प्रधानमन्त्री ओलीको पक्षमा अहिलेसम्म कांग्रेसका ८८, एमालेका ७७, जसपाका ७ जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४ र नागरिक उन्मुक्तिका ४ तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंह गरी १९२ सांसद छन् ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादी भने विपक्षमा छन् । माओवादी केन्द्रको ३२, रास्वपा २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र एकीकृत समाजवादीका १० तथा राष्ट्रिय जनमोर्चा र आमजनता पार्टी एक–एक गरी ७९ मत विपक्षमा हुने निश्चित भएको छ । एक सांसद रहेको नेमकिपाले भने अहिलेसम्म निर्णय गरेको छैन ।

प्रकाशित मिति:July 21, 2024