सानातिना कुरामा टाउको दुखाएर समय खेर नफालौंः प्रधानमन्त्री

  Sampatti News 2024

July 22, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना कुरामा टाउको नदुखाउन आग्रह गरेका छन् । प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रममा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले गरेको प्रश्नमा उत्तर दिँदै कुनै पनि राजनीतिक दलको अरुकोजस्तो अफिस टाइम नहुने बताएका हुन् ।

प्रधानमन्त्रीलाई प्रश्न गर्ने क्रममा सांसद राईले ‘मध्यराति के आपत पर्‍यो र १२ घन्टा पर्खिन नसक्नेगरी सात बुँदे सम्झौता गर्नुको कारण के हो ? के यसमा आम नेपालीले थाहा पाउँदा विद्रोह गर्ने विषय छन् र ?’ भन्ने प्रश्न गरेकी थिइन् ।

उक्त प्रश्नको जवाफ दिँदै ओलीले भने– ‘मैले नबुझ्या हामी यो गरिमामय सदनमा के कस्ता कुरामा अल्झिदैछौं ? पार्टीभित्र भएका सहमति ‘एएम’ मा कि ‘पीएम’ मा हुनुपर्छ ? कति बजेमा हुनुपर्छ ? यस्तो कहीँ कतै छ र ? यस्तो हुन्छ ? एएमभित्र सक्नुपर्छ ? यति बजेर यति मिनेट गएपछि अफिस अफ हुन्छ र ? राजनीतिक दलको अफिस अफ हुँदैन । राजनीतिक गतिविधिको समय अफ हुँदैन । घडी अफ हुँदैन । समय गतिशील छ । थकाइ लागेकाहरू दिउँसो पनि सुत्छन्, थकाइ नलागेकाहरू बस्छन् काम पनि गर्छन् । यस्तो सानोतिनो कुरामा टाउको दुखाएर समय खेर नफालौं’ ।

प्रकाशित मिति:July 22, 2024