उपसभामुखको सचिवालयले अमेरिका पठाउन नौ लाख लिएको मुकुल ढकालको दाबी

  Sampatti News 2024

July 23, 2024

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा राना मगर प्रकरणको राज्यले छानबिन गर्नुपर्ने बताएका छन् ।

आफूले सुरुदेखि नै उपसभामुखलाई घटनाबारे प्रश्न गरे पनि पार्टी नेतृत्वले नजरअन्दाज गर्दै आएको उनले बताएका छन् । ढकालले उपसभामुख रानामगरलाई राजीनामा दिन आग्रह गरेका छन् ।

उपसभामुखले अमेरिकी दूतावासलाई चिठी लेखेको विषयमा सामाजिक सञ्जालमार्फत पूर्व महामन्त्री ढकालले उपसभामुख रानाको विगतको छवि उच्च रहे पनि अहिले छानबिनका लागि तयार हुनु नपर्ने कुनै कारण नरहेको बताएका छन् ।

‘उपसभामुख इन्दिरा आमाको विगतको छवि सबै नेपालीले शीर निहुराएर नमन गर्नैपर्छ । यसो भन्दै गर्दा हामीले यो बिर्सनु हुन्न कि हामी त्यो समाजमा बस्छौं जुन समाजमा कुनै दिन माता सीताले पनि सहजै अग्नि परीक्षा दिन तयार हुनुभएको थियो’, आज बिहान फेसबुकमा उनले लेखेका छन् ।

आफूसँग उक्त घटनाका केही प्रमाण रहेको भन्दै राज्यले सोधपुछ र छानबिनका लागि बोलाए आफूसँग भएका प्रमाण दिन तयार रहेको ढकालले बताएका छन् । आफूले सुरुमा घटनाबारे जानकारी लिन खोज्दा उपसभामुखले थाहा छैन भने पनि पछि एक जनाको नाम बताएको पनि उनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै ढकालले आर्थिक लेनदेन भएको प्रमाण पीडितसँग रहेको पनि बताएका छन् ।

ढकालले उपसभामुख इन्दिरा रानामगर प्रकरणमा मुख खोल्दै एक वर्षअघि उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको उजुरी पार्टीमा आएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘खबर प्राप्त गर्ने बित्तिकै मैले घटनाको बारेमा पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, सहकोषाध्यक्ष दीपक बोहोरासम्म कुरा पुर्‍याएको हो ।’

ढकाल इलाममा उपचुनावका बेला भएकाले त्यसपछि आफू समीक्षा यात्रामा निस्किएको र त्यसपछिको अवस्थाका बारेमा सबैलाई जानकारी भएको उल्लेख गरेका छन् । उनले ९ लाख रुपैयाँ उपसभामुखको सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरेको बताएका छन् ।

ढकालले पीडितलाई उद्धृत गर्दै भनेका छन्, ‘पीडितका अनुसार नौं लाख फिर्ता भएको बैंक स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।’

प्रकाशित मिति:July 23, 2024