विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको विजुली जोड्ने

Nepal Cover
८ श्रावण २०८१, मंगलवार
image

काठमाडौं । उद्योगीहरुको काटिएको विजुली नेपाल विद्युत प्राधिकरणले पुनः जोड्ने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको प्राधिकरणले जनाएको हो ।

आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा नियमाअनुसार फेरि बक्यौता असुल उपर गर्न कारबाही अगाडि बढाउने निर्णय गरिएको छ।

लोडसेडिङका बेला ट्रंक र डेडिकेटेड लाइनमार्फत बिजुली खपत गरेका उद्योगीले अर्बौँ रुपैयाँ महसुल तिर्न बाँकी रहेको प्राधिकरणले बताउँदै आएको छ। उद्योगीहरूले भने बिजुली खपतको प्रमाणसहित पठाइएको महसुल तिरिसकिएको र प्रमाणबिनाको महसुल तिर्न नसक्ने बताउँदै आएका छन्।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसँग यसबारेमा छलफल गरेका थिए। सो क्रममा घिसिङले प्राधिकरणको सञ्चालक समितिमा प्रस्ताव लैजाने बताएका थिए।