‘उपत्यकामा राप्रपाको अर्जुन दृष्टि’

  Sampatti News 2024

July 27, 2024

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा धवलशम्सेर राणाले ‘सत्तासीन कुम्भकर्ण’ लाई जगाउन र जनताको पक्षमा परिवर्तन ल्याउन राप्रपाले उपत्यकामा अर्जुन दृष्टि कायम राखेको प्रष्ट पारेका छन् ।

‘जनताको पीरमर्का बेवास्था गरेर सरकारमा मस्त सुतिरहेको कुम्भकर्णलाई प्रभावकारी धक्का दिन राप्रपा रणनीतिक रुपमा अघि बढेको छ । सशक्त युवा दस्ता र उपत्यकाकेन्द्रीत संगठन त्यसै लक्ष्यको माध्यम हो,’ संगठन विभाग प्रमुख समेत रहेका राप्रपा महामन्त्री राणाले शनिबार भने ।

राप्रपा संगठन विभागको कार्ययोजनाअनुरुप सम्पन्न नगरस्तरीय संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै राणाले स्थानीय तहमा हुने बजेट दुरुपयोग र भ्रष्टाचारविरुद्ध कडा खबदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

‘स्थानीय तहको जगमा देश बन्ने हो, समाज बन्ने हो । त्यसैले नगरपालिका र वडा तहमा जनताको पक्षमा र भ्रष्ट मनोवृत्ति विरुद्धमा राप्रपाले खबरदारी गर्नुपर्दछ,’ उनले भने ।

महामन्त्री कृन्ती शाहीले स्थानीय तहमा महिला जागरणको महत्व उजागर गर्दै महिला शक्तिको बलमा घरपरिवारमा मात्र नभएर देशमा सकारात्मक परिवर्तन ल्याउनु पर्ने बताए ।

प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले पात्र र प्रणालीमा विद्यमान समस्या सरकार र प्रधानमन्त्री परिवर्तनले सम्बोधन नहुने भएकोले नवीन समझदारी गरेर सबै शक्ति र विचार अटाउने संरचना र सहमति आवश्यक रहेको बताए ।

नगर अध्यक्ष अनिल पराजुलीको अध्यक्षता सम्पन्न कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले आफ्नो सगठन आफैं बनाउनुपर्छ भन्ने यथार्थ मनन् गरेर स्थानीय संगठन मजबुत बनाउनु पर्ने बताए ।

प्रकाशित मिति:July 27, 2024