को-को हुन् सहकारीको रकम ठगेर विदेश भागेका १८ जना ? (नामसहित)

  Sampatti News 2024

July 29, 2024


काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भई विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले गृहमन्त्री लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जना सहकारी ठगीमा संलग्न भई विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताए ।

उनले विदेश फरार रहेका व्यक्तिहरू संलग्न रहेका सहकारीहरू अनुसन्धानको अनुसूची १ र २ मा छानबिनको दायरामा रहे पनि विदेशमा रहेकाले सरकारले तत्काल छानबिनको दायरामा ल्याउन निर्देशन दिएको बताए ।

उनले बचतकर्ताहरूको दुरुपयोग गरेको बचत फिर्ताको सन्दर्भमा समितिले सोधपुछ गर्न आवश्यक भएको बताए । उनले विदेशमा रहेका १८ जनालाई पनि समितिको छानबिनको दायरामा आउन जरुरी रहेको बताए ।

उनले सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीबी राई, सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन, सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लीलानाथ गौतम, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, साना पाइलाका तस्विरण खातुन र असरफ अली, सहारा बचत तथा ऋण सहकारी र सुप्रिम सुवास केसी, कान्ति सहकारीका प्रेमध्वज लामा, मेगाडिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको बताए ।

प्रकाशित मिति:July 29, 2024