एमालेको सचिवालय बैठक बस्दै, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने

  Sampatti News 2024

August 1, 2024

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । केन्द्रीय नेताहरुको कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि आज बिहान ११ बजे सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेले पार्टी कार्यालयमा बैठक बोलाएपनि मंगलबार राति बाढी पसेपछि आज हनुमानस्थानस्थित होटल बसेरामा बैठक बस्नेछ । बाढी पसेपछि बुधबार दिउँसोदेखि कार्यालय सरसफाइ र मर्मतको काम जारी रहेको छ ।

नेकपा एमालेले केन्द्रीय नेतालाई आफ्नै भूगोलको जिम्मेवारी दिन लागेको छ । यस अगाडि असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । अन्तर प्रदेश र अन्तर क्षेत्रका फरक फरक भूगोलमा कार्यक्षेत्र रहने गरी खटाएको एक वर्ष पूरा भएकाले आफ्नै कार्यक्षेत्रको जिम्मेवारी दिने निर्णय भएको थियो ।

नयाँ कार्य विभाजनको आधार केन्द्रीय सदस्यलाई प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको जिम्मेवारी दिने, प्रदेशका सदस्यलाई पालिका, जिल्ला सदस्यले वडा र पालिकाले टोललाई कार्यक्षेत्र बनाउने गरी मापदण्ड तोकेको छ । बैठकबाट एमालेले विभिन्न इञ्चार्ज र विभागको नेतृत्व समेत परिवर्तन गर्नेछ ।

प्रकाशित मिति:August 1, 2024